Logo

माओवादीका दुई मुख्यमन्त्री आज एकैसाथ पदमुक्त हुँदै



काठमाडौं,६ साउन । अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बागमती र लुम्बिनी प्रदेश सभाको बैठक बस्दैछ । दिउँसो १ बजे दुवै प्रदेश सभाको बैठक बसनु लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आजको बैठकमा बागमतीका मुख्यमन्त्री शालीकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनेछन् । सत्ता साझेदार दल नेकपा एमाले सरकारबाट बाहिरिएपछि उनीहरु दुवै अल्पमतमा परेका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएपछि दुवै मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चितजस्तै छ । उनीहरु दुवै नेकपा माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । भने नेकपा एस, माओवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेछ ।

कुल एक सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका २१, राप्रपाका १२, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को सात, नेमकिपाका तीन र हाम्रो नेपाल पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाका तीन दलले विश्वासको मत नदिने भएपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको प्रदेश सरकार परिवर्तन हुने निश्चितजस्तै छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएपछि कांग्रेस–एमाले गठबन्धको तर्फबाट मुख्यमन्त्रीमा कांग्रैस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेस गर्ने तयारी गरेका छन् ।

कांग्रेसभित्र संसदीय दलका नेता लामा र इन्द्रबहादुर बानियाँबीच सरकारको नेतृत्वलाई लिएर विवाद छ । केन्द्रबाट हस्तक्षेप नभए वा दलको नेता परिवर्तन नभएको खण्डमा लामा नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको कांग्रेसका प्रदेशसभा सदस्यहरूले बताएका छन् ।

उता लुम्बिनीमा पनि पहिलो ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल कांग्रेस दुवैले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । कांग्रेस एमालेको गठबन्धनलाई जसपा, लोसपा, जसपा नेपाल र नाउपाको पनि साथ रहेको छ । तर, मुख्यमन्त्री महराले भने विश्वासको मत नमागि प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिनसक्ने सम्भावना पनि रहेका नेताहरुले बताएका छ्न । महरा पदमुक्त भएपछि लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्