Logo

बागमतीमा लामा र लुम्बिनीमा गिरी नयाँ मुख्यमन्त्री बन्ने निश्चित, आजै दाबी पेश गरिने



काठमाडौं,६ साउन । बागमी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीद्धय शालीकराम जम्कट्टेल र जोखबहादुर महरा नेतृत्वको प्रदेश सरकार ढल्ने निश्चित भएपछि नयाँ सरकार निर्माणको तयारीमा सत्तारुढ दुई दल नेकपा एमोल र नेपाली कांग्रेस लागेका छन् ।

जम्कट्टेल र महराले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । तर, दुवैले विश्वासको मत पाउने सम्भावना छैन् । जम्कट्टेल र महरा पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकारको गठनको आह्वान गर्नेछन् । प्रदेश प्रमुखबाट सरकार गठनको आह्वान हुनासाथ कांग्रेस र एमालेसहितको गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएको छ ।

सत्तारुढ दलबीच भएको सहमति अनुसार बागमतीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा र लुम्बिनीमा पूर्व मुख्यमन्त्री लिला गिरीले मुख्यमन्त्री दाबी पेश गर्नेछन् । अहिले दुवै दलका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सम्भव भएसम्म दुवै प्रदेशले आजै नयाँ मुख्यमन्त्री पाउने बताईएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा ३, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र र राष्ट्रिय जनमोर्चा एक(एक र नेपाली कांग्रेसका २७ जना सांसद छ्न । यता ११० सदस्यीय बागमती प्रदेशमा ठूलो दल कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, नेकपा एसको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

रोक्ने प्रयासमा बानिँया र आचार्य !

यसैबीच बागमती प्रदेशमा पहिलो पटक सत्ताको नेतृत्व गर्न लागेको कांग्रेसमा मुख्यमन्त्री बन्ने पात्रलाई लिएर किचलो भएको छ । संसदीय दलका नेता लामा भएपनि अर्का नेता इन्द्र बानिँयाले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेसमा आन्तरिक शक्ति संघर्ष सुरु भएको छ । लामालाई रोक्न बानिँयाले भएभरको शक्ति लगाएका छन् ।

उता लुम्बिनीमा पनि गिरीलाई रोक्ने एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य लागेका छन् । गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन भने आचार्य महासचिव शंकर पोखरेलनिकटका नेता हुन् । पौडेल संघीय सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेको र गिरीले पनि यसअघि मुख्यमन्त्रीको रुपमा काम गरिसकेको हुँदा आफूले नेतृतव पाउनुपनेृ आचार्यको दाबी छ ।

अर्घाखाँचीबाट प्रदेश सभामा निर्वाचित आचार्य यसअघि प्रदेश सरकारमा अर्थमन्त्री थिए । संघ र प्रदेश सभा निर्वाचनमा अर्घाखाँचीमा तीनै सीट एमालेले जितेको हुँदा यसपटक मुख्यमन्त्री पाउनुपर्ने भ्नदै उनी एक सातादेखि काठमाडौंमा छन् । यद्यपि संसदीय दलको दलको नेता गिरीनै भएको कारण उनीनै मुख्यमन्त्री बन्ने नेताहरु दाबी गर्छन् ।



प्रतिक्रिया दिनुहोस्