Logo

प्रतिनिधि सभा बैठक सुरू, प्रधानमन्त्री अ‍ोलीले विश्वासको मत लिँदै (लाईभ)



काठमाडौं, साउन ६ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवनमा भर्खरै बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिँदैछन् । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उनले कम्तीमा १३८ मत पाउनु पर्छ ।

असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन्। दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

वर्तमान सरकारमा सहभागी दलहरूको अङ्कगणित अनुसार प्रधानमन्त्रीका पक्षमा सहज बहुमत छ । अहिले सरकारमा कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी छ । त्यस्तै जसपा नेपाल, नाउपा र जनमतले पनि विश्वासको मत दिने बताएको छ ।

सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् । यस्तै एमालेका ७८ सदस्य छन् । जसमध्ये सांसद टोपबहादुर रायमाझी निलम्बनमा छन्। मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ । सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन् । दुई ठुला दलका मात्र १६५ सदस्य छन् ।

सदनमा प्रतिनिधित्व गर्ने चार दलले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदानको निर्णय गरेका छन् । तीन दलको संसद्मा ७४ सदस्य छन् । यसअघि चार वटै दलले निवर्तमान पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पक्षमा विश्वासको मत दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्