Logo

माओवादीलाई ओलीको जवाफः मैले आफ्नो यात्रामा ब्याक गियर लगाउन जानेको छैन



काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बाटोतर्फ देशलाई धकेल्नेगरी संविधान संशोधन नहुने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले संविधान बाधक बनेको ठाउँमा मात्रै संशोधन हुने बताएका हुन् । उनले दुई तिहाइ छ भन्दैमा दुई तिहाइको बलामा संविधान संशोधन नगरेर सबैको सहमति खोज्ने प्रयास गर्ने पनि बताए ।

प्रतिगमनतर्फ देश जान लागेको भनी माओवादी केन्द्रका नेताहरुले दिइरहेको अभिव्यक्तितर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले अहिलेसम्म उल्टो बाटोमा हिँड्न नजानेको बताए । अहिले मुलुकको तगारो अस्थिरता रहेको बताउँदै उनले त्यसलाई सम्बोधन हुनेगरी संविधान संशोधन हुने दाबी गरे ।

‘म सधैं अघि बढ्ने मानिस हुँ । मैले आफ्नो यात्रामा ब्याक गियर लगाउन र पछि सर्न जानेको छैन । हामी सबैले महशुस गरेको कुरा अहिले मुलुकको तगारो अस्थिरता हो । अस्थिरता हटाउन संविधान संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको वाहक बन्नुपर्छ, बाधक होईन । विकासको लागि संविधान जहाँनिर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ,’– उनले भने ।

सबै राजनीतिक दल मिलेर संविधान बनाएको र अहिलेसम्मको संशोधन गरेको बताउँदै उनले यस पटक पनि सबैको सहमतिमा संविधान संशोधन हुने र उक्त संशोधन देश र जनताको हितमा हुने बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्