Logo

ओली प्रधानमन्त्री हुँदा राजेन्द्र लिङ्देन सबैभन्दा धेरै खुसी, विश्वासको मत भने नदिने



काठमाडौं,६ साउन । राप्रपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिपक्षमा बस्ने राप्रपाको नीति भएको हुँदा सरकारलार्य विश्वासको मत नदिने बताएका छन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दल ओली प्रधानमन्त्री बन्दा सबैभन्दा धेरै खुसी भएको बताए । उनले गएको निर्वाचनमा आफ्नो दल र एमाले मिलेर केही स्थानमा चुनाव लडेको स्मरण गराउँदै ओली प्रधानमन्त्री बन्दा आफू खुसी रहेको बताए । उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गराउँदै भविष्यमा आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने पनि बताए ।

उनले कांग्रेस र एमाले मिलेर बनेको यो सत्ता समीकरण अन्तिम रहेको बताउँदै सबै दलबीच नविन समझदारी हुन जरुरी रहेको बताए । संविधानमा रहेका केही प्रावधान संशोधन गर्न जरुरी रहेको तर, समानूपातिक निर्वाचन प्रणाली र बहुदलीय व्यवस्थालाई परिवर्तन गर्न खोजिए राप्रपा सशक्त प्रतिवादमा उत्रिने बताए ।

यसअघि दुई तिहाइको सरकार हुँदा पनि ५ वर्ष नचलेको उदाहरण दिँदै लिङदेनले गणितले मात्रै स्थिरता नआउने बताए । त्यस्तै, कांग्रेस–एमालेले दुई दलीय व्यवस्था जसका लागि समानुपातिक निर्वाचन प्रणाली संशोधन गर्ने हल्ला रहेको भन्दै लिङदेनले साना दललाई निषेध गरेर कस्तो देश बनाउने भन्ने जिज्ञासा राखे ।



प्रतिक्रिया दिनुहोस्