Logo

‘जान्नेलाई छान्ने’ पार्टीबाट आउनुभएकी उपसभामुख रानाले एक मिनेट पनि पदमा बस्न मिल्दैनः एमाले सांसद थापा



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु एकपछि अर्को विवादमा तानिँदै गएको टिप्पणी गरेका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले रास्वपाबाट निर्वाचित उपसभामुखदेखि त्यो पार्टीका सभापति, उपसभापतिसमेत विवादमा तानिएको बताएका हुन् । रास्वपाका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपाली सेनालाई साइज डाउन गर्नुपर्छ भनेर संसद्को रोस्ट्रमबाटै भनेको स्मरण गराए ।

जान्नेलाई छान्ने भनेर आह्वान गरेको रास्वपाको हालत खराब भएको उनको दाबी छ । नेता थापाले रास्वपाबाट निर्वाचित उपभामुख इन्दिरा रानाले संसद्ले नचिनेका मान्छेलाई भिसा सहजीकरण गरिदिन भन्दै पत्र लेखेर पदको दुरुपयोग गरेको उनको भनाइ छ । उपसभामुख रानाले जानेर उक्त पत्र लेखेको हो भने एक मिनेट पनि पदमा बस्ने नैतिकता नरहेको उनले बताए ।

‘जान्नेहरुको हालत यस्तो हुन्छ ? नागरिकता त्यागेर फेरि लिँदा जानकारी गराउन नपर्ने ? उपसभामुख भएपछि आफ्नै लेटरहेडमा संसद्ले नचिन्ने, कार्यक्रमले नचिन्ने, केहीले नचिन्ने मान्छेलाई फिसारिस गरेर भिसाको लागि सहजीकरण गरेर भिसाका लागि चिठी लेख्न चाहीँ जानेर गरेको कि नजानेर ?’ उनले भने, ‘जानेर गरेको हो उहाँ एक मिनेट पनि पदमा बस्न पाउनुहुन्न । नजानेर गरेको हो भने आगामी दिनमा त्यस्तो गल्ती गर्न हुँदैन । यो दया, माया छचल्किन जहाँ पायो त्यहीँ पाइँदैन पदमा बसेपछि । गर्न पाइँदैन, यो मर्यादित भएन भनेको हो । हामी जान्ने हुँ भनेर आएका साथीहरुको यो हविगत ? भयो त, जानेको ठहरियो यो ?’

साथै, उपसभामुख रानाको बचाउमा संसद्मा रास्वपाकी सांसद एवं पूर्वमन्त्री सुमना श्रेष्ठले चर्को अभिव्यक्ति दिएको भन्दै नेता थापाले संवैधानिक परिषद्को क्यालकुलेटर थिच्न आवश्यक नरहेको जवाफ फर्काए । उनले उपसभामुख राना अब रास्वपाको मान्छे नभएर प्रतिनिधि सभाको उपसभामुख रहेको तथ्य भूल्न नहुने उनको भनाइ छ । साथै, उनले रास्वपाकी सांसद सुमनाले नेपालको जनजीविका केही नबुझेको टिप्पणी गरे । उनले सांसद सुमनाले अग्रेजी बोलेकोमा पनि आपत्ति जनाए ।

उहाँ म विदेशीसँग बिवाह गरेको, विदेशबाट आएको, नेपालको जनजीवन केही बुझ्दिँन भनेर यसो अंग्रेजी मिसाएर बोल्दै हुनुहुन्थ्यो । त्यसो नगर्नुस्, जनताले बुझ्ने भाषामा बोले भइहाल्यो नि । सुमनाजीले अंग्रेजी जानेर सांसद हुनुभएको हो कि क्या हो ? उहाँभन्दा जान्ने पनि त त्यही संसद्मा हुनुहुन्छ त । हुनुहुन्न ? उहाँभन्दा जान्ने पनि हुनुहुन्छ । कुरा के भने उपसभामुख रास्वपाको र सुमनाको होईन । उहाँ प्रतिनिधि सभाको उपसभामुख हो । संवैधानिक परिषद्को त्यसै क्यालकुलेटर थिच्नुहुन्छ उहाँहरु ।



प्रतिक्रिया दिनुहोस्