Logo

प्रचण्ड नेतृत्वको सरकार खाएकै वर्षमानले होः एमाले नेता थापा



काठमाडौं, ७ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार उनकै क्याविनेटमा रहेका अर्थमन्त्री वर्षमान पुनको कारण ढलेको दाबी गरेका छन् । हिजो (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्षमानको नालायकीले नै तत्कालीन सरकारको सन्तुलन विग्रिएको दाबी गरेका हुन् । नेता थापाले तत्कालीन अर्थमन्त्री पुन पक्षपति र नालायक रहेको टिप्पणी गरे ।

‘नेपालमा सबैभन्दा खराब बजेट ल्याउने मान्छे वर्षमान पुन । वर्षमान पुनले चाहीँ मिथ्याङ्क प्रस्तुत गर्दै यो मिलेन, त्यो मिलेन भन्दै हुनुहुन्थ्यो । राम्रो बजेट ल्याएर वाहावाही हुने बेलामा उहाँले सबै मिथ्याङ्क, तथ्याङ्क होईन, मिथ्याङ्क । उहाँको रोल्पामा विकास चाहिने, अनि छिमेकीकोमा नचाहिने । त्यस्तो पक्षपति नालायक मान्छेले के तर्क बहस गर्नु र ? रिसाएको विरोलोले खाँबो चिथोर्छ भन्छन् नि, त्यही गरेको त हो । अस्ती भर्खर चार महिनामै जानुपर्यो नि । त्यो सरकार खाएकै भनेको वर्षमानले हो । वर्षमानकै नालायकीले त्यो सरकारको सन्तुलन विग्रियो,’– उनले भने ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका तत्कालीन गृहमन्त्री रवि लामिछानेले आफ्नो हविगत र हैसियत विर्सिएको उनको टिप्पणी छ । उपप्रधान एवं गृहमन्त्री बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि उनी खनिएको नेता थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्