Logo

सांसदसँग प्रश्नोत्तर गर्न गएका प्रधानमन्त्री प्रवचन दिन थालेपछि माओवादीको आपत्ति, सभामुखको ‘निर्देश’



काठमाडौं,७ साउन । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री र सांसदबीच सवाल जवाफ भएको छ ।

कांग्रेस सांसद धनराज गुरुङले प्रश्न सोधेकोमा प्रधानमन्त्री ओली भने प्रश्न भन्दा पनि अन्य विषयमा बोल्न लागेका थिए । डेडिकेडेट र ट्रंक लाइनको विषयमा शून्य समयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेको विषयको जवाफ दिन लागेका थिए । दाहालले प्रधानमन्त्री ओलीले डेडिकेडेट र ट्रंक लाइन विद्युत्को महसुल तिर्नुपर्ने विषयमा विश्वासको मत लिने क्रममा तथ्यभन्दा बाहिर गएर विषय राखेको भनेका थिए ।

ओलीले सांसद धनराज गुरुङले सोधेको प्रश्न भन्दा पनि सांसद दाहालले शून्य समयमा उठाएको विषयमा बोल्न लागेपछि माओवादी केन्द्रका सांसद वर्षमान पुनले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीले यस विषयमा लामै प्रवचन दिन थालेपछि माओवादीका वर्षामान पुनले उठेर नियमापत्ति गरे । उनलाई सभामुखले बोल्न समय दिए । पुनले सवालजवाफको समयमा प्रधानमन्त्रीले कुन सन्दर्भमा बोलिरहनुभएको हो भनेर सभामुखलाई रुलिङ गर्न माग गरे ।

त्यसपछि प्रधानमन्त्रीले भने, ‘म प्रश्नोत्तर नै गरिरहेको छु । म बिल्कुल विषय केन्द्रित छु । लिखित प्रश्नभन्दा पहिले अलिखित नै बाटोमा आइपुग्यो । यस्तो नगरौं भन्ने हो ।’

पुनले प्रश्न उठाएपछि सभामुख घिमिरेले निर्देशन दिँदै भने, ‘प्रधानमन्त्रीलाई विषय केन्द्रित भएर अगाडि बढ्नका लागि म निर्देश गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्