Logo

गिरीलाई पन्छाउँदै लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले गरे दाबी पेश



काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचनसामू आचार्यले दाबी पेश गरेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।

एमाले संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो । 

मुख्यमन्त्रीको दाबी पेश गर्ने क्रममा लुम्बिनी एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी अनुपस्थित भएका छन् । गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आचार्यलाई अघि सारेका थिए । आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।



प्रतिक्रिया दिनुहोस्