Logo

सांसद् शर्माविरुद्ध मुद्दा चलाउन आधार नपुग्ने ठहरसहित महान्यायाधिवक्ताको कार्यालय पुग्यो फाइल



काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्र, सरकारी कागजात किर्ते र ठगी मुद्दा नचल्ने भएको छ । डा. शर्माविरुद्ध दायर भएको ती मुद्दामा आधार नपुग्ने भन्दै महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गर्न लागेको हो ।

सांसद शर्माले एमबीबीएस पढ्दा पेस गरेको आईएससीको प्रमाणपत्र शङ्कास्पद रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले उनलाई २०८० साउनमा नियन्त्रणमा लिएको थियो । उनी पछि हाजिर जमानीमा छुटेका थिए । सीआईबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन आधार नपुग्ने निर्णयसहित टिप्पणी उठाएर उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्चले पनि जिल्लाको निर्णय सदर गर्दै महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।

सांसद शर्माविरुद्ध मुद्दा चलाउन हदम्याद नभएको, विदेशी विश्वविद्यालयले दिएको शैक्षिक प्रमाणपत्रमा सरकारी छाप किर्ते गरेको भन्न नमिल्नेलगायतका आधार लिँदै जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय सदर गरेका हुन् । उक्त निर्णय महान्यायाधिवक्ता रमेश बडालसमक्ष हिजो पेश भएको तिथयो । आज उक्त निर्णय सदर गर्ने तयारी रहेको बताइएको छ ।

गत साउनमा उनलाई पक्राउ गरिएको थियो । सरकारले उनलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै आलोचनासमेत भएको थियो । सांसद शर्माले आफूविरुद्ध लागेको आरोप पुष्टि गरेर देखाउन चूनौति दिँदै आएका थिए । सांसद शर्माले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले आफूलाई पूर्वाग्रह राखेर पक्राउ गरेको भन्दै संसद्मै विरोध जनाएका थिए । उनले आफूलाई पक्राउ गर्दा कार्यविधिसमेत नपुर्याइएको उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्