Logo

…त्यसपछि शंकर पोखरेलको ‘नोटिस’मा परेका थिए लिला गिरी



काठमाडौं,७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्यले दाबी पेश गरेका छन् ।

सोमबार प्रदेश प्रमुख अमिक शेरचनसामू आचार्यले दाबी पेश गरेका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्। आचार्यलाई मुख्यमन्त्री बनाउन दुई दलका ५६ जना सांसदले समर्थन जनाएका छन् ।

एमाले संसदीय दलका नेता लीला गिरी भए पनि अन्तिममा आचार्यलाई केन्द्रबाट मुख्यमन्त्री बनाउन निर्देशन भएको थियो ।

मुख्यमन्त्रीको दाबी पेश गर्ने क्रममा लुम्बिनी एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री गिरी अनुपस्थित भएका छन् । गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भएपनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आचार्यलाई अघि सारेका थिए । आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका थिए ।

..त्यसपछि पोखरेको नोटिसमा परेका थिए गिरी

नेकपा एमालेमा हाल अध्यक्ष केपी ओलीबाहेकको अन्य गुट छैन् । तर, दोस्रो तहका नेताहरुमा भने आ -आफ्नै प्रतिस्पर्धा छ । ओलीकै धुरीमा रहेका नेताहरुले आ-आफ्नो गुट बनाउँदा त्यसको असर प्रदेशमा देखिँदै आएको छ । ओलीपछिको उत्तराधिकारी को हुने भन्नेबारेमा दुई नेताहरु महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच प्रतिस्पर्धा छ । पोखरेल ओलीको अत्तिनै भक्त नेताको रुपमा चिनिन्छन् भने पौडेल आलोचनात्मक समर्थक हुन्न् ।

पोखरेल दाङ र पौडेल रुपन्देहीबाट प्रतिनिधित्व गर्दै आएका छन् । ०८० भाद्रमा सम्पन्न लुम्बिनी प्रदेशको अधिवेशनमा पौडेलविरुद्ध पोखरेलले मोर्चाबन्दी गरेका थिए । पौडेलले निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई अघि सार्दा पोखरेल समूहले पूर्व प्रदेश सांसद हरिप्रसाद रिजाललाई अघि सारेका थिए । केन्द्रमा पौडेल र पोखरेलजस्तै प्रदेशमा आचार्यले रिजाल र गिरीले कँडेललाई समर्थन गरेका थिए ।

१२ जिल्ला समेटिएको लुम्बिनीमा सबैभन्दा धेरै प्रतिनिधि रहेको रुपन्देहीको भोट एकत्रृत गर्न गिरीले नेतृत्व गरेका थिए भेन दोस्रो धेरै प्रतिनिधि रहेको पाल्पामा कँडेल आफै सक्रिय बनेका थिए । रिजाललाई जसरी पनि अध्यक्ष बनाउन पोखरेलले निक्कै मेहनत गरेका थिए । पोखरेलसहितले रिजाललाई सकेसम्म सर्वसम्मत अध्यक्ष बनाउन चाहेका थिए । तर, एक कार्यकाल आफैं दोहोरिनुपर्ने कँडेलको अडानका कारण अन्तत निर्वाचन भयो । निर्वाचनमा २ मतले हराउँदै कँडेल अध्यक्ष चुनिए ।

लुम्बिनीमा पोखरेललाई रक्षात्मक बनाउने गरी गिरीले चालेको कदमलाई एमाले केन्द्रले ‘नोट’ गरिरहेको थियो । कांग्रेस र एमालेबीच संघ तथा प्रदेशको शक्ति बाँडफाँडसँगै लुम्बिनीमा एमाले संसदीय दलका नेता समेत रहेका गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की थियो । अन्तिम घडीमा महासचिव पोखरेलले आफ्नो शक्ति प्रयोग गरे ।

सोमबार बिहानसम्म पनि मुख्यमन्त्री बन्नेमा ढुक्क रहेका गिरी काठमाडौंबाट आएको एउटा फोनले पछि हट्न बाध्य भएका छ्न । बिहान महासचिव पोखरेलले प्रदेश अध्यक्ष कँडेललाई फोन गरेर आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि प्रदेश कमिटी पछि हटेको एमाले नेताहरु बताउँछन् । पोखरेलको कदमलाई नेतृत्वले पनि साथ दिएको नेताहरुको दाबी छ ।

लुम्बिनीमा पौडेल र पोखरेल समूहबीच देखिएको प्रतिस्पर्धा अहिले देशव्यापी बनिसकेको छ । अन्य प्रदेश कमिटीका अलवा जिल्लामा पौडेल र पोखरेल समूहबीच प्रतिस्पर्धा भइरहेको छ । शंकर पोखरेल पक्षले रुपन्देहीबाट संघमा अर्थमन्त्री बनेपछि लुम्बिनीको मुख्यमन्त्री अन्य जिल्लाबाट हुनुपर्ने दाबी गर्दै आएका थिए ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको वर्तमान सरकारमा उपप्रधान तथा अर्थमन्त्री रहेका पौडेल रुपन्देशी २ का संघीय सांसद हुन । गिरी पनि रुपन्देहीबाटै प्रदेश सभामा प्रतिनिधित्व गर्छन । उता मुख्यमन्त्रीमा दाबी पेश गरेका आचार्य अर्घाखाँची प्रदेश सभा क बाट निर्वाचित सांसद हुन् ।



प्रतिक्रिया दिनुहोस्