Logo

बजेट होलिडे हुँदापनि सत्ता लम्ब्याउने खेलमा सुदूरका मुख्यमन्त्री, विशेष अधिवेशनमा सत्तापक्ष सहभागी नहुने सङ्केत



काठमाडौं,८ साउन । नेकपा एमाले र नेपाली कांग्रेसका एक चौथाई सांसद्को लिखित आग्रहपछि बोलाईएको सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो २ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन डाकिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा थियो । तर अध्यादेशको बाटोबाट बजेट ल्याउने बाटो नै बन्द गरी प्रदेश प्रमुख नजिर मियाँमार्फत विशेष अधिवेशनको आह्वान गरिएको छ ।

अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख मियाँले साउन ३ गते राति १२ देखि लागु हुने गरी अधिवेशन अन्त्य गरे ।

त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (काँग्रेस एमालेसहित) विशेष अधिवेशनमा माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरे । त्यस लगत्तै प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार भएको हो ।

संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस-एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।

एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।

प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको चाहाना रोकिएको छ ।

यसैबीच बजेट पारित हुन नसक्दा बजेट होलिडे भएको र त्यसमा नेकपा एमोल जिम्मेवार रहेको आरोप लगाउँदै आएको सत्ता पक्षले आजको विशेष अधिवेशनमा उपस्थित नहुने संकेत गरेको छ । कुनैपनि विजनेशबिना डाकिएको विशेष अधिवेशनमा आफूहरु सहभागी हुनुको कुनै अगर्थ नरहेको सत्तापक्षका सांसदहरुको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्