Logo

कांग्रेस-एमालेले समानुपातिक समावेशी व्यवस्था खारेज गर्दा त्यसपछिको परिणाम भोग्न तयार हुनुपर्छः माओवादी नेता खनाल



काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले समावेशी समानुपातिक निर्वाचन प्रणाली खारेज हुन नसक्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमाले गठबन्धन सरकारले दुई तिहाइको दम्भ देखाएर समानुपातिक समावेशी निर्वाचन प्रणाली खारेज गर्न खोजेको खण्डमा त्यसपछि पैदा हुने परिस्थिति भोग्न तयार हुनुपर्ने बताएका हुन् ।

‘यो संविधानको मूल मर्म नै समावेशी हो । किन खारेज गर्ने यसलाई ? त्यो हुँदैन । दुई तिहाइ त हुर्नुस्, तत्कालीन अवस्थामा राजतन्त्रको शतप्रतिशत मत थियो । के हुन्छ र दुई तिहाइले ? यसले फेरि अर्को स्थिति पैदा गर्छ भन्ने कुरा बुझ्नुपर्दैन ? त्यसकारण संविधान संशोधनको मात्रै बहस होईन,’– उनले भने ।

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा विकास र समृद्धि ल्याउन नसक्ने ठोकुवा गरे । उनले दुई तिहाइको सरकार ध्वङ्श पारेर आफ्नो पार्टीलाई पनि छिन्नभिन्न बनाउने ओलीबाट विकास र समृद्धि अपेक्षा गर्न नसकिने बताए । बरु कांग्रेसबाट क्रमिक विकास र देशको जल्दोबल्दो समस्या केही हदसम्म समाधान हुनसक्ने उनको तर्क छ ।

‘दुई तिहाइको सरकार ध्वङ्श पारेर, आफ्नो पार्टीलाई छिन्नभिन्न पारेर, भएभरको बजेट लगेर जंगलमा टावर ठड्याउनेजस्ता काम गर्ने मान्छेले अब देशको विकास गर्छ भनेर यो खुट्टी देखेरै धेरैले पत्याएका छन् । जहाँसम्म कांग्रेसको पुरानै सिद्धान्त, उनीहरुको नीति, विचारअनुसार क्रमिक विकास, अथवा अहिलेको जल्दोबल्दो समस्या समाधान गर्न बरु कांग्रेस आफ्नो लयमा हिँड्ला । तर, एमाले भन्ने र एमालेमा पनि केपीजीको स्थिति सबैले देखेकै कुरा हो । अहिले पनि हामीले देशमा विकासको नारा दिएपनि तीब्र गतिको विकास छैन । हामीले विकासको मोडल बनाऔं, सर्वसहमतिमा जाऔं भनेर भनेकै हो नि,’– उनले भने ।

कांग्रेस एमालेको समीकरण विकास र समृद्धिका लागि नबनेको उनको दाबी छ । उनले नेपालमा जुन दलले सरकार बनाउँदा पनि विकास र समृद्धिको कुरा गर्ने, अन्तमा काम गर्ने परम्परा रहेको बताए । नेता खनालले माओावदी वर्तमान सरकारसँग नडराएको पनि प्रष्ट पारे । जनयुद्ध र जनआन्दोलनको जगमा बनेको संविधानको रक्षाका लागि माओवादी केही चनाखो भएको दाबी गर्दै उनले डराएको भन्न नमिल्ने बताए ।

‘जनयुद्ध र जनआन्दोलनको पहलमा बनेको संविधानको रक्षकको हिसाबले माओवादी अलिकति के हुन लागेको हो ? कसरी अगाडि बढ्न खोजेका हुन् भनेर अलिकति चनाखो हुनुपर्ने छ ।’ नेता खनालले भने, ‘माओवादी आत्निुपर्ने, रिसाउनुपर्ने छैन । यही संविधानअन्तर्गत बहुमत शो गरेर बनाउनु भएको छ, हामीलाई के–को चिन्ता ? ’



प्रतिक्रिया दिनुहोस्