Logo

मातृका यादवको उदाहरण दिँदै कोशीका पूर्व मुख्यमन्त्री कार्कीले दिए सचिवलाई कुट्ने धम्की



काठमाडौं,८ साउन । आफ्ना कार्यकर्तालाई कमिसन दिनका लागि छिटो बजेट निकासी गरिदिन भनेको तर, सचिवले नमानेको भन्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईमाथि कुटपिट गर्ने धम्की दिएका छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङ र प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताए ।

कोशी प्रदेशमा सम्पन्न बिराट गोल्डकपको विषयलाई लियर तथानाम गाली गलौज गर्दै पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव मातृका यादवले मन्त्री छँदा सचिवलाई कुटेर शौचालयमा थुनेको यादै होला, म पनि तंलाई मन्त्रालयमा आएर कुटछु, शौचालयमा थुन्छु लगायतका धम्की र गाली गलौज गरेको भट्टराईको दाबी छ । (तत्कालीन मन्त्री यादव आफूले भनेको नमानेपछि ललितपुरका स्थानीय विकास अधिकारीलाई शौचालयमा थुनेर चर्चामा आएका थिए)

‘यो अवस्थामा म मन्त्रालयमा बसेर कामकाज गर्न नसक्ने अवस्था भएकाले मेरो जिउ ज्यानको सुरक्षा सहित आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरि कार्यालयमा बसेर काम गर्ने अवस्था मिलाइदिनु हुन अनुरोध छ । साथै मलाई फोनमार्फत गालिगलौज र कुटपिट गर्ने धम्की दिने निज केदार कार्कीलाई कानून बमोजिम कारबाही गर्नुहुन समेत अनुरोध गर्दछु’ प्रजिअसामू उनेल दिएको उजुरीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्