काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले कांग्रेस–एमाले गठबन्धन सरकार निरङ्कुश बन्ने डर बढेको बताएका छन् । आज (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको संविधान संशोधन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई ठूला दल एक ठाउँमा उभिँदा निरङ्कुशता जन्मिने डर रहेको बताउँदै निरन्तर खबरदारी गर्न मिडियाहरुलाई आग्रह गरेका हुन् । कांग्रेस सत्तापक्षमा रहेको भएपनि सरकारले गर्ने गलत कामप्रति खबरदारी गर्ने पनि उनले बताए । नेता कोइरालाले सकारको गलत कामलाई सही भनेर अगाडि बढ्न नसकिने बताए ।
‘हामीहरु दुईवटा ठूला दल एक ठाउँमा उभिएका छौं । त्यो दुईवटा ठूला दल एक ठाउँमा उभिँदाखेरी कतै निरङ्कुशता त जन्मिँदैन भन्ने हामीहरुलाई डर चाहीँ छ । त्यो निरङ्कुशताबाट बचाउनका लागि पनि मिडियाका साथीहरुले अग्रणी भूमिका खेल्नुपर्छ ।’ उनले भने,‘हामीहरुले कुनै पनि गलत काम, कमीकमजोरी गर्न थाल्यौं भने तपाईँहरुले खबरदारी गर्नुपर्छ । हामी सत्तापक्षमा छौं । गलत कामलाई सही भन्न सक्दैनौं हामी । गलतलाई गलत र सहीलाई सही भनेर हामी अगाडि बढ्छौं । हामी संसद्मा खबरदारी गर्छौं ।’
साथै, उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले मिश्रित प्रणालीमा राजनीतिक स्थायित्व नभइ देश विकास नहुने र देश राजनीतिक स्थायित्वको लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताउँदै उनले समानुपातिक समावेशिताको मर्मलाई कुनै पनि आघात नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।
त्यस्तै, न्याय पालिकामा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा रहने कुरालाई नेपाल बार एशोसिएशनले समेत प्रश्न उठाएको भन्दै त्यसतर्फ पनि सोच्न जरुरी रहेको बताए । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
‘संविधान संशोधन गर्दा संसद्भित्रका सबै राजनीतिक दलहरुसित सहमति गरेर नै अगाडि बढ्नुपर्छ । हामीसित दुई तिहाइ बहुमत छ भनेर दम्भ गरेर संविधान संशोधन गर्न हुँदैन । राजनीतिक दलहरुबाहेक नागरिक समाज, बु्द्धिजीबी, पत्रकार सबैसँग सुझाव लिएर अगाडि जान सकियो भने राजनीतिक स्थायित्व, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउन सक्छौं,’– उनले भने । File Photo/RN