Logo

दुई तिहाईको दम्भमा संविधान संशोधन गर्न हुँदैनः शेखर कोईराला



काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले दुई तिहाइको दम्भमा संविधान संशोधन गर्न नहुने बताएका छन् । आज (मंगलबार) नेपाल प्रेस युनियनले आयोजना गरेको संविधान संशोधन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्भित्र रहेका सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिनुपर्ने बताएका हुन् ।

‘संविधान संशोधन गर्दा संसद्भित्रका सबै राजनीतिक दलहरुसित सहमति गरेर नै अगाडि बढ्नुपर्छ । हामीसित दुई तिहाइ बहुमत छ भनेर दम्भ गरेर संविधान संशोधन गर्न हुँदैन । राजनीतिक दलहरुबाहेक नागरिक समाज, बु्द्धिजीबी, पत्रकार सबैसँग सुझाव लिएर अगाडि जान सकियो भने राजनीतिक स्थायित्व, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउन सक्छौं,’– उनले भने ।

उनले राजनीतिक स्थायित्वको लागि संविधान संशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । उनले मिश्रित प्रणालीमा राजनीतिक स्थायित्व नभइ देश विकास नहुने र देश राजनीतिक स्थायित्वको लागि मिश्रित निर्वाचन प्रणाली बाधक रहेको बताउँदै उनले समानुपातिक समावेशिताको मर्मलाई कुनै पनि आघात नपर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताए ।

त्यस्तै, न्याय पालिकामा पनि संशोधन आवश्यक रहेको उनको भनाइ छ । उनले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा रहने कुरालाई नेपाल बार एशोसिएशनले समेत प्रश्न उठाएको भन्दै त्यसतर्फ पनि सोच्न जरुरी रहेको बताए । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरुसँग सहमति गरेर अगाडि बढ्नुपर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्