Logo

राज्यव्यवस्था समितिमा सत्तारुढ तीन सांसद्को एकैस्वर: उपसभामुख रानामाथि अविलम्ब छानबिन गरिओस्



काठमाडौं,९ साउन । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई लेखेको पत्रबारे सांसदहरुले चासो व्यक्त गरेका छन् ।

बुधबार बसेको समितिको बैठकमा नेकपा एमालेका सांसदद्धय रघुजी पन्त र बासुदेव घिमिरे तथा नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले रानामाथि छानबिन गर्न माग गरेका छन् ।

बैठकमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उपसभामुखमाथि मानव तस्करीको आरोप लाग्नु लज्जास्पद विषय भएको बताइन् । उनले उपसभामुखमाथि प्रश्न उठ्नुले सांसदहरूको शीर निहुरिएको बताइन् । उनले छानबिन गरी निर्दोष भए दोषबाट मुक्त गराउनुपर्ने र दोषी देखिए कानुनी कठघरामा उभ्याउनुपर्ने बताइन् ।

यता अर्का सत्तारुढ सांसद घिमिरेले पनि पत्रले धेरै आशंका उब्जिएको भन्दै तत्काल छानबिन गर्न माग गरे । उनले छानबिनको दायरामा ल्याउनेकुरालाई अनावश्यक राजनीतिकरण नगर्न पनि आग्रह गरेका छन् ।

“उपसभामुखसँग जोडिएको नेपाली व्यक्ति अमेरिका पठाउन पठाउन खोजेको र लेनदेन पनि भएको कुरा बाहिर आएको छ । समितिमा उजुरी आएको कुरा छ,” उनले भने, “यो विषय समितिमा जानकारी आओस् र आवश्यक छलफल होस् । यो संवेदनशील विषय हो ।”

त्यस्तै अर्का सांसद पन्तले उपसभामुख रानाले अनाधिकृतरुपमा पत्र लेखेको भन्दै समितिमा नै उजुरी परेकोबारे ध्यानाकर्षण गराएका छन् । उनले आगामी दिनमा यस विषयमा उपसभामुखमाथि कुनैपनि प्रश्न नउठ्नेगरि समितिले काम गर्नुपर्ने बताएका छन् । ‘उहाँको बारेमा समितिमा पनि उजुरी परेको छ । यो निवेदनबारे कानूनी र राजनीतिक सबै पक्षबाट उचित निर्णय लिईओस् । यसबारेमा आगामी दिनमा कुनैपनि प्रश्न नउठोस’ उनले भने ।

‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जान उपसभामुख रानाले पाँचजनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । २६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तिमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि सार्न आग्रह गर्दै पत्र लेखिकी थिइन् ।

सो पत्र सार्वजनिक भएपछि रानामाथि मानव तस्करी गरेको आरोप लाग्दै आएको छ । यसबारेमा सदनमा समेत सत्ता पक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको थियो । रास्वपाबाट निर्वाचित सांसद रहेकी रानाको वचाउनमा रास्वपा उत्रिँदै आएको छ भने सत्तापक्षले उनको राजीनामा मागिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्