Logo

देउवालाई लुम्बिनी प्रदेश सभापतिको चुनौतिः ‘प्रदेश संरचना मन नपरेको भए खारेज गरौं’



काठमाडौं, १० साउन । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेशको मन्त्रिपरिषद् गठनमा केन्द्रीय नेतृत्व हाबी भएको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रीय नेतृत्वको निर्देशनमा पार्टीभित्र कुनै छलफल नगरी मन्त्री छनोट गरेको बताएका हुन् ।

‘हाम्रो (कांग्रेस) २७ जना हुनुहुन्छ । एक जना दलका नेताबाहेक २६ जना जो पनि मन्त्रीको आकांक्षी हुनुहुन्थ्यो । सबै उम्मेदवार योग्य हो । जो बन्नुहुन्थ्यो, त्यो आफ्नो ठाउँमा छ । तर, कांग्रेस प्रदेश समन्वय समितिमा समन्वय गर्ने, छलफल गर्ने, यो मापदण्ड अनुसार मन्त्री बनाउन पर्यो भन्ने कुनै छलफल भएन । केन्द्रीय नेतृत्वले सिधा प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई निर्देशन, डिल्लीबहादुर चौधरीले पार्टीसँग कुनै समन्वय नगरी मन्त्रीहरु छनोट गरेर पठाउनुभयो,’– उनले भने ।

साथै, उनले केन्द्रीय नेतालाई प्रदेश संरचना मनै नपरेको बताए । उनले संघीयता नै मन नपरेको हो भने राजनीतिक दलहरुबीच सहमति गरेर संघीयता खारेजी गर्न सुझाव दिए । नेता पुनले कांग्रेस विधिसम्मत नचलेको बताए । ‘यदि प्रदेश संरचनालाई कमजोर बनाउने हो भने तल्लो तहका सब संरचना खारेज गरे भयो नि । किन चाहियो प्रदेश, जिल्ला, पालिका र वडा ?’ उनले भने ।

नेता पुनले पार्टी सभापति शेरबहादुर देउवादेखि शेखर कोइरालाले समेत आफ्नो प्रवृत्ति सच्याउन आवश्यक रहेको बताए ।लुम्बिनी सरकारमा कांग्रेसबाट हिजो चार जना मन्त्री बनेका थिए । कांग्रेसबाट मन्त्री बनेका बादशाह कुर्मीको बारेमा आलोचना सुरु भइरहेको छ । कुर्मी ठगी र कर्तव्य ज्यान कसुरका अभियुक्त रहेको बताइएको छ ।File Photo/RN



प्रतिक्रिया दिनुहोस्