Logo

माओवादी र एकीकृत समाजवादीको कोटाबाट नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउँदै सरकार



काठमाडौं,१० साउन । नयाँ सरकार बनेसँगै रिक्त १ दर्जन भन्दा धेरै देशमा नयाँ राजदूतको नियुक्ति प्रक्रिया अगाडि बढाउने तयारी भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनेसँगै दुई दलले राजदूत नियुक्तिको विषयमा छलफल थालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच राजदूत नियुक्तिबारे भएको छलफल निष्कर्षउन्मुख रहेको स्रोतले जनाएको छ ।

उच्च नेतृत्व तहमा भएको सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गर्नेछ। भने नेपाली कांग्रेसले भारतसहित जापान, अस्ट्रेलिया र मलेसियामा राजदूत नियुक्त गर्ने सहमति बनेको छ।

भारतका लागि राजदूतमा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र चीनका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीलाई सिफारिश गर्ने सरकारले तयारी गरेको स्रोतले जनाएको छ ।

सम्भवतः आज बस्ने मन्त्रिपरिषद बैठकले उनीहरूलाई राजदूतमा सिफारिश गर्नेछ । चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णुपुकार श्रेष्ठ राजदूत छन् । नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी छ ।

त्यस्तै रुसमा एकीकृत समाजवादीको कोटाबाट नियुक्त मिलनराज तुलाधर र अस्ट्रेलियामा पनि नेकपा एसकै कैलाशराज पोखरेल अहिले राजदूत छन् । तुलाधर र पोखरेललाई पनि फिर्ता बोलाउने तयारी छ । भारत, अमेरिका र बेलायतस्थित राजदूतहरूलाई यस अघिकै प्रचण्ड नेतृत्वको सरकारले फिर्ता बोलाइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्