Logo

कोशी सरकारमा जान कांग्रेसले राख्यो दुई शर्त, आलोपालोको समय निर्धारण र बजेट पुनरावलोकन हुनुपर्ने



काठमाडौं,१० साउन । केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि त्यसैअनुसार प्रदेश सरकार पुनर्गठन भईरहेका छन् । गत असार १७ गते भएको नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् भने केही प्रदेशमा नयाँ सरकार पनि बनिसकेको छ ।

हालसम्म मधेशमा पुनर्गठन हुँदा बागमतीमा र लुम्बिनीमा नयाँ सरकार बनेको छ । बागमतीमा नेपाली कांग्रेसका बहादुरसिं लामा र लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । दुवै प्रदेश सरकारले पूर्णता पाउने चरणमा छ ।

उता कर्णाली र सुदूरपश्चिममा पनि सरकार पुनर्गठनको तयारी भईरहेको छ । कर्णालीमा हाल रहेको एमाले नेतृत्वको सरकारमा कांग्रेस सामेल हुनेछ भने सुदूरमा कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्नेछ । अन्य प्रदेशमा सरकार गठन र पुनर्गठनको सरगर्मी बढिरहँदा कोशी प्रदेशमा भने कुनैपनि सुरसार भएको छ ।

कोशीमा हाल एमाले नेतृत्वको सरकार छ । कोशीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । केन्द्रको सहमति अनुसार कोशीमा एमालेको नेतृत्वकै सरकारले निरन्तरता पाउनेछ भने कांग्रेस साझेदार दल बनेर भित्रिनेछ ।

कोशीमा कांग्रेसले सरकारमा सामेल हुन दुईवटा शर्त अघि सारेको छ । सरकारको नेतृत्व आलोपालो हुनुपर्ने र बजेट पुनरावलोकन गर्नुपर्ने कांग्रेसको अडान छ । बागमती र लुम्बिनीमा २०-२० महिना दुवै दलले आलोपालो सरकार चलाउने सहमति गरेका छन् । त्यस्तै सहमति कोशीमा पनि हुनुपर्ने कांग्रेसको माग छ ।

कोशी सरकारले गएको असार १ मा ल्याएको आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति पनि कांग्रेसले तीव्र विरोध प्रकट गर्दै बजेटको विपक्षमा मतदान गरेको थियो। तत्कालीन विपक्षी कांग्रेस मात्रै होइन, सत्तारूढ एमाले र माओवादीकै सांसदहरूले पनि केही सीमित मन्त्रीको क्षेत्रमा योजना र बजेट खन्याइएको भन्दै तीव्र आलोचना गरेका थिए।

भौतिक पूर्वाधार, स्वास्थ्य , वन तथा पर्यटन जस्ता प्रदेशका आकर्षक मानिने मन्त्रालय सम्हालेका माओवादी मन्त्रीहरू बजेटमा हाबी भएको भन्दै आलोचना भएको थियो। त्यसैले पनि बजेटको पुनरावलोकन गर्ने सहमति हुनुपर्ने अडान कांग्रेसले प्राथमिकतापूर्वक अघि सारेको हो ।

यता हाल कोशी सरकारमा नेकपा माओवादीका मन्त्री पनि कायमै छन् । त्यसले गर्दा पनि मुख्यमन्त्री कार्कीलाई कांग्रेसलाई सरकारमा सामेल गराउन अप्ठ्यारो भएको छ । मुख्यमन्त्री कार्कीले राजीनामा दिएर सहज बनाइदिन आग्रह गरेपनि माओवादीका मन्त्रीले राजीनामा दिएका छैनन् । मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सत्तामा रहिरहने माओवादीको तयारी छ । यसले गर्दा तत्काल कांग्रेसको सत्तामा इन्ट्रिहुने सम्भावना नदेखिएको नेताहरुले बताएका छन् ।

यता सरकारमा जाने दिन नजिकिएसँगै कांग्रेसका सांसदहरु मन्त्रीका लागि पार्टीमा लविङ गर्न काठमाडौं धाईरहेका छन् । प्रदेशका मन्त्री पनि केन्द्रले नै छनोट गर्ने हुँदा आकांक्षी सांसदहरु राजधानी केन्द्रीत बनेका हुन् । कोशीमा कांग्रेसले एक राज्यमन्त्रीसहित ४ मन्त्री पाउने सम्भावना छ ।



प्रतिक्रिया दिनुहोस्