Logo

आईकाओको रिपोर्ट एक हप्ताभित्र पेश गर्न पर्यटन मन्त्रालयलाई संसदीय समितिको निर्देशन



काठमाडौं,१० साउन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेस गर्न निर्देशन दिएको छ ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्रीलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले पर्यटनमन्त्री बद्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट एक हप्ताभित्रसमितिमा पेस गर्न निर्देशन दिए ।

उनले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए । प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो ? सो बारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए ।

उनले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्प लगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिए ।

ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्न समेत सभापति यादवले निर्देशन दिए।

‘आईकाओको प्रतिवेदन समितिलाई पठाउन पर्यटन मन्त्रालयलाई पत्र नै लेखेको छ। अब समितिले पत्र लेख्न नपरोस्। अबको एक हप्ताभित्र समितिलाई प्रतिवेदन उपलब्ध गराउन मन्त्रालयलाई निर्देशन गर्दछु’ उनले भने, ‘ईयू सेफ्टी लिस्टको विषयमा डेढ वर्ष भयो। अब हामीले रिजल्ट हेर्ने हो। अर्को बैठकमा आउँदा ईयू सेफ्टीलिस्टमा कति दिनमा हामी च्यानपेन हुन्छौं। तयार गरेर आउन मन्त्रीलाई निर्देशन गर्दछु।’



प्रतिक्रिया दिनुहोस्