Logo

अधिवक्ता नेपालको पूर्वराष्ट्रपति भण्डारीलक्षित अभिव्यक्तिः आफैं राष्ट्रपति हुँदा पतिको हत्यारा नखोज्ने, अब हामीले चासो नराखौं



काठमाडौं, १० साउन । अधिवक्ता स्वागत नेपालले मुलुकको आर्थिक उन्नयनका लागि वैयक्तिक स्वतन्त्रतालाई समेत नियन्त्रणमा लिएर देशमा केही समयसम्म कठोर र निर्मम शासकको आवश्यकता रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक उन्नयनका लागि कठोर सैनिक शासनको आवश्यकता औंल्याएका हुन् ।

‘म यस्तो कथित स्वतन्त्रताको पक्षमा छैन । म देशभक्त हो, राष्ट्रवादी हो । मुलुकलाई आर्थिक उन्नयनका लागि केही समयसम्म कठोरतम्, निर्मम, व्यक्तिका वैयक्तिक स्वतन्त्रताहरुको पनि केही समय पर्छ भने नियन्त्रण गरेर आर्थिक उन्नयनमा लाग्नुपर्ने जनवादी, राष्ट्रभक्त, देशभक्त एउटा शासक चाहिएको छ ।’ उनले भने, ‘त्यो सैनिक नै किन नहोस् । म १६ देखि २६ वर्षका सबै युवाहरुलाई अनिवार्य सैनिक सेवामा राख्नुपर्छ भन्ने मान्छे हुँ ।’

अधिवक्ता नेपालले नेताहरुले अहिलेसम्म नीतिगत निर्णयको नाममा भ्रष्टाचार गरिरहेको बताए । बालुवाटार जग्गा घोटला प्रकरणमा अदालतले नेताहरुलाई उन्मुक्ति दिएर कर्मचारीहरुलाई मात्र दोषी करार गरिएको भन्दै उनले आपत्ति जनाए । उनले नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्ने नेताहरुलाई मृत्युदण्ड दिनुपर्ने बताए ।

‘नीतिगत निर्णय गरेर भ्रष्टाचार गर्नेहरुलाई मृत्युदण्ड दिनैपर्छ । म भर्खरै जिल्ला भ्रमणबाट आएको छु, अरु जिल्ला पनि पुगेको छु । कारागार पनि भ्रमण गरेर आएँ । हरेक मान्छे भन्छन्–यी नेता नमरी देश बन्दैन ।’ उनले भने, ‘तर, कहिले मर्छन् भनेर कुरेर पनि बन्दैन । मार्न पर्छ, त्यो भनेको मृत्युदण्ड दिएर मार्नुपर्छ । हिजो गरिबको छोराछोरी मारेजस्तो होईन, कानुन बनाएर मार्नुपर्छ । म त्यसको पक्षमा छु ।’

अधिवक्ता नेपालले अमेरिकी विकास परियोजना एमसीसीका पक्षधर र पारित गर्नेहरुलाई मृत्युदण्ड दिन आवश्यक रहेको बताए । ‘एमसीसी ज–जसले समर्थन गरे, पारित गरे, विभिन्न बहानामा यसलाई स्वीकार गरे, तिनीहरुका मूल नेतृत्वलाई मृत्युदण्ड दिन जरुरी छ,’– उनले भने ।

अधिवक्ता नेपालले अब दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्याको बारेमा खोजिरहनु आवश्यक नरहेको बताए । उनले नेतृत्व हत्याउन मदन भण्डारी र राज परिवारको हत्या भएको दाबी गरे । अधिवक्ता नेपालले राष्ट्रपति विद्यादेवी भण्डारी आफैं राष्ट्रपति बनेको बेला आफ्नो पतिको हत्याबारे चासो नराखेको भन्दै आपत्ति जनाए ।

‘नेतृत्व हत्याउन आफैं हत्या गर्ने अनि त्यसपछि आफैं राष्ट्रपति हुँदा आफ्नो पतिको हत्याको बारेमा नखोज्ने, आफैं पटक–पटक प्रधानमन्त्री हुँदा आफ्नै पार्टीको नेताको हत्याको बारेमा नखोज्ने । पार्टीको नेतृत्व हत्याउन हत्या गर्नेहरुको बारेमा जनताले अब कहिले पनि नसोच्नुस् । यो बारेमा अब हामीले चासो नै नराखौं,’– उनले भने ।

अधिवक्ता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नालायकको संज्ञा दिए । उनले ओली चौथो पटक नालायक प्रमाणित हुन प्रधानमन्त्री बनेको उनको टिप्पणी छ । मिडियाहरुले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई नयाँ सरकार भनेकोप्रति उनले आपत्ति जनाए । अधिवक्ता नेपालले २० पटक मन्त्री बनेर असफल भएकाहरुको सरकारलाई नयाँ सरकार बन्न नमिल्ने बताए ।

‘भर्खरै सरकार ढल्यो । सञ्चारकर्मीहरु नयाँ सरकार भन्छन्, अच्चम लाग्छ मलाई । २० पटकसम्म असफल भएका मन्त्रीहरु छन्, नयाँ मन्त्रिपरिषद् भन्छन् । तीन पटकसम्म नालायक भएको मान्छे फेरि चौथो पटक प्रधानमन्त्री हुन आएको छ ।’ उनले भने, ‘नयाँ सरकार भनेर ठूला–ठूला सम्पादकहरु समाचार र टिप्पणीहरु राख्छन् । फेरि पुरानै आयो, गएगुज्रेको आयो किन नभनेको ? चेतनाको विर्को अझै पनि खुलेको छैन ।’

साथै, यही संसदीय व्यवस्था मान्ने र सांसदहरु नै मन्त्री र प्रधानमन्त्री बन्ने व्यवस्थामा आएका दलहरुलाई नयाँ भन्न नमिल्ने बताए । देशभरीका जनताले भोट हालेर आफ्नो प्रतिनिधि चुनेको प्रधानमन्त्रीमात्रै जनताको हुने उनको तर्क छ । उनले वर्तमान सरकार विदेशीले बनाएको दाबी गरे । विदेशीहरुले नेपालमा राजनीतिक अस्थिरता चाहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्