Logo

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले आजै राजीनामा बुझाउने



काठमाडौं,११ साउन । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ।

कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा एमालेबीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादी सरकार छाड्ने निर्णयमा पुगेको हो।

कोशी प्रदेशमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री,नारायण बुर्जा मगर पर्यटन बन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा प्रतिपक्षमा माओवादी पुगे पनि कोशी प्रदेशबाट भने मुख्यमन्त्रीकै आग्रहमा सरकारबाट राजीनामा दिएका थिएनन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए । तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो ।

माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ।

सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच कोशीको मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन शुक्रबार काठमाडौंमा छलफल सुरु हुँदैछ।

अन्यन्त्र प्रदेशमा जस्तै कोशीमा पनि आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्नेगरि एमोल र कांग्रेसले सहमति गर्ने तयारी गरेका छन् । माओवादीले लिएका तीनसहित मुख्यमन्त्री कार्कीसँग रहेको एक मन्त्रालय थपेर कांग्रेसले चार मन्त्रालय लिने र माओवादीले पाएको एक राज्यमन्त्रीमा थप एक जना गरेर दुई जना राज्यमन्त्री एमालेले लिने मोटामोटी सहमति बनेको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्