Logo

कांग्रेस-एमाले गठबन्धन सरकार प्रधानमन्त्री ओलीकै कारण ढल्छः मेटमणि चौधरी (भिडिओसहित)



काठमाडौं, ११ साउन । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान सरकार चार महिनाभित्र ढल्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण वर्तमान सरकार ढल्ने दाबी गरे । उनले तत्कालीन नेकपा नेतृत्वको दुई तिहाइ नजिकको सरकार ओलीकै कारण ढलेको उनको दाबी छ ।

‘मान्छेको क्षमतामा भर पर्छ । हिजोको दिनमा दुईतिहाइ वरिपरीको कम्युनिष्ट पार्टीको सरकार टिकेन । सबैभन्दा ठूलो पार्टी भनेको नेकपा (एमाले) थियो । माओवादीसँग मिलेर हामीले चुनाव लडेका थियौं । अरु राजनीतिक दलहरुले सहयोग गर्नुभएको थियो । तिमी नै सरकार चलाउ, तिमी नै अगुवाइ गर भन्दा पनि सरकार चलाउन नसक्ने ।’ उनले भने, ‘आज सबैभन्दा ठूलो राजनीतिक दलको सहयोगमा सरकारको नेतृत्व गरेको व्यक्तिले सरकार चलाउँछ भनेर कसैले कल्पना गर्नसक्छ ? हामीले पत्याइदिनुपर्ने हो ?’

नेता चौधरीले ओली नेतृत्वको सरकारलाई दिएको विश्वासको मत सबैभन्दा पहिला जनता समाजवादी पार्टी (जसपा) नेपालले फिर्ता लिने दाबी गरे । त्यसपछि ओलीले मन्त्री बनाउँछु भनेर विश्वासको मत दिन लगाएका अन्य दलहरुले क्रमशः विश्वासको मत फिर्ता लिँदै जाने र कांग्रेस–एमालेबीचमा पनि द्वन्द्व सुरु हुने उनको भनाइ छ । आफूलाई यो सरकार चार महिना टिक्नुपनि धेरै हो भनेजस्तो लागिरहेको उनले बताए । नेता चौधरीले ओलीको नियत पनि सफा नरहेको दाबी गरे ।

वर्तमान सरकार देश र जनताको हित, पर क्यापिटा इन्कम वृद्धि गर्ने, जीडीपी बढाउनेलगायतको एजेण्डामा नबनेको नेता चौधरीको दाबी छ । उनले वर्तमान सरकार राष्ट्रघातसँग जोडिएको थुप्रै मुद्दाहरु राफसाफ गर्न निर्माण भएको उनको आरोप छ । उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेकोमा सबै खुसी रहेको टिप्पणी गरे । तर, प्रचण्ड नेतृत्वको सरकार ढलेर ओली प्रधानमन्त्री बनेकोमा पनि जनता दुःखी नै रहेको बताए । प्रचण्ड नेतृत्वको सरकार ढल्नुमा प्रचण्ड स्वयं जिम्मेवार रहेको उनको भनाइ छ । नेता चौधरीले कांग्रेस धेरै इमानदार पार्टी रहेको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्