Logo

खिइँदै गएको माधव नेपालको पार्टी आफैं फुट्छ, एमालेले फुटाउनै पर्दैनः प्रदीप ज्ञवाली



काठमाडौं, ११ साउन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एकीकृत समाजवादी) को भविष्य नरहेको दाबी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादी खिइँदै गएको र अन्ततः धेरै नेताहरु एमालेमै समहित हुने दाबी गरेका हुन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले एमालेले पार्टी फुटाउन चलखेल गरिरहेको ब्रिफिङ गरेको थियो । अध्यक्ष नेपालको सोही अभिव्यक्तितर्फ लक्षित गर्दै नेता ज्ञवालीले एकीकृत समाजवादी फुटाउन एमाले लाग्नु नपर्ने बताएका हुन् । उनले कर्कलो फाँड्न बञ्चरो प्रयोग गर्न नपर्ने टिप्पणी गरे ।

‘जसको आफैं अस्तित्व सकिँदै गएको छ । जसका स्थापनाकालीन धेरै नेताहरु त्यो पार्टीको भविष्य छैन भनेर नेकपा (एमाले) मा समाहित हुनुभएको छ । आफैं दुब्लाउँदै, खिइँदै गएको संस्थालाई फुटाउनका लागि हामीले कुनै मेहनत गर्नुपर्ने कारण नै देखिँदैन । त्यो भनेको कर्कलो फाँड्नका लागि बञ्चरो प्रयोग गरेजस्तो भनेजस्तै हो ।’ उनले भने, ‘कर्कलोलाई सानो हसिँया नै काफी हुन्छ । आफ्नो अस्तित्व रक्षाका लागि उहाँहरु लडिरहनुभएको छ । आफ्नो कमजोरी नदेखी दोष अरुलाई लगाइरहनुभएको छ । त्यो पार्टीको भविष्य छैन भनेपछि त्यहाँ को बसिरहन्छ ? त्यसभएर धेरै कार्यकताहरुमा उकुसमुकुस छ । उहाँलाई त्यही अनुभूति छ ।’



प्रतिक्रिया दिनुहोस्