Logo

प्रधानमन्त्री ओलीलाई माओवादी नेताको प्रश्नः ‘राष्ट्रिय सहमतिको सरकारको मुद्दा के हो ?’



काठमाडौं, ११ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले संक्रमणकालीन न्यायका बाँकी कामहरु निश्कर्षमा पुर्याउनु सबै दलहरुको दायित्व भएको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै दलहरु मिलेर समयमै संक्रमणकालीन न्यायका बाँकी काम सम्पन्न गर्दा देशको हितमा हुने बताएका हुन् ।

ेनेता शाहीले अहिले संक्रमणकालीन न्याय माओवादीको मात्रै विषय रहेकोजस्तो गरिएको बताए । ‘यो माओवादीको मात्रै विषय होईन । नेपालका सबै राजनीतिक दल र जनताको विषय हो । यो विषयको समाधान हामीले तत्काल गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले उठाइरहेका छौं । यो माओवादीको मात्रै विषय हो, माओवादीले आफ्नो अपराध लुकाउनका लागि यो गरिरहेको छ भन्ने खालको बुझाइ पनि छ । यो माओवादीको मात्रै विषय होईन । यसलाई हामीले समयमै समाधान गर्नुपर्छ । देशमा स्थायी शान्तिका लागि यो आवश्क छ,’– उनले भने ।

ेनेता शाहीले एजेण्डाको आधारमा राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सहमतिको सरकारको एजेण्डा अगाडि सार्न आग्रह गरे । वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकार भनेपनि एजेण्डाबारे केही बोल्न नसकेको उनको भनाइ छ । नेता शाहीले अन्तरिम संविधान बनाउँदा, नेपालको संविधान जारी हुँदा र अन्य महत्वपूर्ण विषयमा समेत राष्ट्रिय सहमति भएको बताउँदै सहमतिको सरकारको मुद्दा प्रष्ट हुन आवश्यक रहेको बताए ।

‘राष्ट्रिय सहमतिको सरकार त उहाँले भन्नुहुन्छ । तर, राष्ट्रिय सहमतिको सरकारको मुख्य एजेण्डा के हो ? प्रधानमन्त्रीले एजेण्डा पेश गर्नुपर्यो । के– का लागि राष्ट्रिय सहमतिको सरकार आजको आवश्यकता हो ? हामीले राष्ट्रिय सहमतिको आधारमा अन्तरिम संविधान जारी गर्यौं । राष्ट्रिय सहमतिकै आधारमा हामीले नेपालको संविधान जारी गर्यौं । देशका ऐतिहासिक निर्णय गर्दा हामीले राष्ट्रिय सहमतिको आधारमा गर्यौ भने आजको राष्ट्रिय सहमतिको सरकारको मुद्दा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘एक दलीय व्यवस्था अहिलेको एजेण्डा होईन । जनताको चाहना एकदलीय व्यवस्था होईन । बहुदलीय शासन व्यवस्था हो । दलहरु हुनुपर्छ, के–का लागि भन्दा जो सत्तामा जान्छ, उसले गल्ती गर्नसक्छ । त्यो शासकलाई खबरदारी गर्नका लागि, गलत बाटोमा हिँडेको शासकलाई ठीक ट्रयाकमा ल्याउन प्रतिपक्ष चाहिन्छ ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्