Logo

टीआरसी विधेयकलाई सत्तापक्ष र प्रतिपक्षको विषय बनाइनु हुँदैन, यो सिँगो देशको साझा विषय होः महेश बर्तौला



काठमाडौं, ११ साउन । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले टीआरसी विधेयकलाई सत्तापक्ष र प्रतिपक्षको विषयका रुपमा लिन नहुने बताएका छन् । आज (शुक्रबार) टीआरसी विधेयक सहजीकरणक कार्यदलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो देशको साझा विषय रहेको बताएका हुन् । नेता बर्तौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यो विधेयक चाँडो निश्कर्षमा पुर्याउन आफूहरुलाई निर्देशन दिएको पनि उनले बताए ।

‘टीआरसी हार्ने वा जित्ने पक्षबाट सोच्न हुँदैन । यो सत्तापक्ष र प्रतिपक्षको विषय होईन । सिंगो देशको साझा विषय हो । प्रधानमन्त्रीज्यूले पनि हामीलाई विशेष निर्देशन दिनुभएको छ । तपाईँहरुले अब ढिला नगर्नुस् भन्नुभएको छ,’– उनले भने ।

नेता बर्तौलाले टीआरसी विधेयकका सन्दर्भमा पीडितलाई केन्द्रमा राख्ने, अन्तर्राष्ट्रिय मानवीय कानुनलाई सम्मान गर्ने र सर्वोच्च अदालतका फैसलाहरुलाई सम्मान गरी मजबुद कानुन बनाउने गरी नै प्रक्रिया अगाडि बढिरहेको बताए ।

कार्यदलले आगामी सोमबार सरोकारवाला निकायका विज्ञहरुसँग छलफल गर्ने नेता बर्तौलाले बताए । विज्ञहरुसँग छलफलपछि कार्यदलको अर्को बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी रहेको पनि उनले सुनाए । कार्यदलमा बर्तौला, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा र गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्