Logo

माओवादीको पदाधिकारी बैठक सुरू



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा माअ‍ोवादीको बैठक सुरु भएको हो ।

आजको बैठकमा स्थायी समिति बैठक र केन्द्रीय समितिको बैठक बोलाउनेबारे छलफल हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अबको ध्यान सरकारमा भन्दा पनि सङ्गठन निर्माणमा केन्द्रित रहने बताएका छन् । झन्डै १० वर्षपछि प्रमुख प्रतिपक्षमा पुगेको माओवादीले विगतको गम्भीर समीक्षा गर्दै पार्टी निर्माणमा क्रियाशील हुने गरी योजना बनाउने नेताहरूले बताएका छन् ।

बैठकमा पछिल्लोपटक सरकारबाट बाहिरिनुको कारणबारे नेताहरुले अध्यक्ष दाहालसामू निर्मम प्रश्न राख्ने तयारी गरेका छन् । उपमहासचिव जनार्दन शर्माले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग किन आईयो र एमालेसँगको सहकार्य तोडिनुमा को जिम्मेवार ? भन्ने विषय जोडतोडले उठाउने तयारी गरेका छन् ।

उनी कांग्रेससँगको सहकार्यको निरन्तरताको पक्षमा थिए । तर, अर्का उपमहासचिव वर्षमान पुनको सक्रियताको कारण कांग्रेससँगको गठबन्धन तोडिएर एमालेसँगको सहकार्य भएको माओवादीभित्र चर्चा छ । यतिवेला पुन रक्षात्मक अवस्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्