Logo

नेतालाई पार्टीमै टिकाइराख्न माधव नेपाललाई चुनौती, केन्द्रीय कमिटीलाई भद्दा बनाउँदै



काठमाडौं,११ साउन । महाधिवेशन सम्पन्न गरेको करिव १ महिना हुनलाग्दा पनि नेकपा एकीकृत समाजवादीले आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन् । गत असार १६ देखि २१ गतेसम्म काठमाडौंमा भएको १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानीत नेताबाहेक अरु कुनै पनि कमिटी चयन गरेको छैन्

असार २१ मा भएको सहमति अनुसार एकीकृत समाजवादीले २१ जना पदाधिकारीसहित २९९ जनाको केन्द्रीय कमिटी चयन गर्ने भनेको थियो । तर, आकांक्षीको संख्या बढ्दै गएको हुँदा अहिले फेरि १० प्रतिशत थप्ने तयारीमा पार्टी पुगेको नेताहरुले बताएका छन् । तयारी अनुसार १० प्रतिशत सदस्य थपिएमा केन्द्रीय कमिटीको संख्या ३२९ जनाको पुग्नेछ ।

गत असार २१ गते प्रज्ञा भवनस्थित दसौँ राष्ट्रिय महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गरेको सो पार्टीले बाँकी २०६ जना केन्द्रीय सदस्य महाधिवेशन सकिएको १० दिनभित्र चयन गरिसक्ने जनाएको थियो । तर महाधिवेशन सकिएको २० दिन बित्दा पनि केन्द्रीय कमिटीलाई पूर्णता दिन सकेको छैन ।

केन्द्रीय कमिटीलाई पूर्णता दिनेबारे छलफल गर्न यसअघि हिजो पनि पार्टीको बैठक बसेको थियो तर, कुनै पनि निर्णय हुन सकेन् । नेताहरुले केन्द्रीय कमिटीमा नराखेमा पार्टी छाड्ने धम्की दिन थालेपछि नेतृत्वपंक्ति अप्ठ्यारोमा परेको नेताहरुले बताएका छन् । साढे २ वर्षअघि नेकपा एमालेबाट फुटेर नयाँ पार्टी बनेको एकीकृत समाजवादी हाल आएर आफ्नै अस्तित्व जोगाउने चुनौतीबाट गुज्रिरहेको छ ।

०७९ को आम निर्वाचनमा तत्कालीन ५ दलीय सत्ता गठबन्धनबाट चुनाव लडेको एकीकृत समाजवादी थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी पनि बन्न सकेको थिएन् । एकातिर दिनप्रतिदन नेताहरु पूरानै घर एमालेमा फर्किने र अर्कोतर्फ संगठन विस्तारले पनि गति नलिँदा पार्टीको अस्तित्व संकटमा परेको नेताहरु बताउँदा यस्तो अवस्थामा आकांक्षी सबैलाई केन्द्रीय कमिटीमा लगेर हुनसक्ने सम्भावित क्षति रोक्ने प्रयासमा पार्टी लागेको छ । यस्तो हुँदा केन्द्रीय कमिटीको संख्या बढेको नेताहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्