Logo

भीम आचार्यलाई धमलाको प्रश्नः ‘१० भाइ समूहले एमाले छाड्न लागेको हो ?’ (भिडिओसहित)



काठमाडौं, १२ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य भीम आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले काम गर्न नसकेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकार बनेको १२÷१३ दिनमा मन्त्रीहरुले केही छाँटकाँट देखाउन नसकेको बताएका हुन् । फास्ट ट्रयाकबाट काम गर्नुपर्नेमा प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुले ‘गोरुले बसेरउग्राएको’ जसरी काम गर्न खोजेको उनको टिप्पणी छ । प्रधानमन्त्री ओलीले केही गर्न खोजेपनि उनको मन्त्रिमण्डलमा रहेकाहरुले काम गर्न नखोजेको नेता आचार्यको भनाइ छ ।

उनले कांग्रेस–एमाले गठबन्धन सरकार २०८४ को निर्वाचनसम्म नै अगाडि बढ्ने बताए । कांग्रेसको गुट, उपगुटहरु मिलाउन नसके पनि मूल नेतृत्व ०८४ सम्म नै एमालेको गठबन्धनमा बस्ने उनको भनाइ छ । ‘कांग्रेस भ्यागुताको धार्नीजस्तो हो । एउटा भ्यागुता हाल्यो, अर्को उफिन्छ । तर, मूल कांग्रेस जो हो, त्यो देउवा कांग्रेस हो । देउवा कांग्रेस चाहीँ ०८४ सम्म एमालेसँग हुन्छ,’– उनले भने ।

‘तपाईहरु १० भाइले एमाले छाड्नुहुन्न ? माधव कुमार नेपालतिर जाने हो कि ? भन्ने प्रश्नमा उनले माधव नेपाल पनि गतिलो मान्छे नभएको जवाफ दिए । ‘किन छोड्नु ? माधव नेपाल कुन गतिला मान्छे हुन र जानु ? काहीँ गलत भएको छ भने त्यो गलतलाई करेक्सन गर्छौं । आग्रह पूर्वाग्रह राखिएको छ भने त्यो नराखुन् नेताहरुले त्यो हामी प्रयत्न गर्छौं । पार्टीलाई राम्रो बनाउने, ठीक बनाउने, सरकार राम्रोसँग अगाडि बढोस् । त्यो अपेक्षा गर्छौं । त्यसमा आवश्यक सहयोग जति गर्नुपर्छ, हामी गर्छौं । गर्न सकेन भने आलोचना पनि गर्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्