Logo

बागमती कांग्रेसले अन्ततः खड्गीलाई बनायो मन्त्री, दलितको सहभागिता भने शून्य



काठमाडौं, १२ साउन । काठमाडौं, निर्वाचन क्षेत्र नं. ६ बाट बागमती प्रदेश सभामा निर्वाचित भएकी हरिप्रभा खड्गी सामाजिक विकास मन्त्री बनेकी छन् । खड्गीले आज (शनिबार) प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् । मुख्यमन्त्री बहादुरसिंह लामाले विहीबार नेपाली कांग्रेसबाट चार जना मन्त्री नियुक्त गरेका थिए । कांग्रेसभित्रको आन्तरिक विवादको कारण उनीहरुको शपथ हुन सकिरहेको थिएन ।

रोचक के छ भने गत विहीबार आर्थिक मामिला तथा योजनामन्त्री बनेका प्रभात तामाङ पद तथा गोपनीयताको शपथ लिन नपाउँदै आउट भएका छन् । कांग्रेसले महिलालाई मन्त्री नबनाएको भन्दै व्यापक आलोचना भएपछि तामाङलाई शपथ नै नगराइ हटाएर खड्गीलाई मन्त्री बनाइएको हो ।

संविधानअनुसार कूल १४ सदस्यीय बागमतीको मन्त्रिपरिषद्मा कम्तीमा पनि ५ जना महिलाको सहभागिता हुनुपर्ने हुन्छ । तर, बागमतीमा एमालेले सुकुमाया तामाङलाई मन्त्री बनाएको थियो । कांग्रेसको भागमा परेको ८ मन्त्रालयमा महिलाको सहभागिता नभएपछि आलोचना भएको थियो ।

कांग्रेसले आलोचनापछि तामाङलाई हटाएर खड्गीलाई मन्त्री बनाएको छ । योसँगै १४ सदस्यीय बागमतीको मन्त्रिपरिषदमा दुई जना महिला सहभागी भएका छन् । बागमतीमा दलित समुदायको प्रतिनिधित्व भने शून्य छ । केन्द्रीय सरकारले दलित, मुस्लिम समुदायलाई मन्त्रिपरिषद्मा निधेष गरेको भनेर आलोचना भइरहेको बेला बागमती सरकारले पनि फेरि त्यही गल्ती दोहोर्याएको छ ।



प्रतिक्रिया दिनुहोस्