Logo

पुष्पलालको जन्मशताब्दी कार्यक्रममा देउवा नआएपछि माधवको टिप्पणीः ओलीले नकरात्मक लिन्छन् भनेर उहाँ आत्तिनुभएको छ



काठमाडौं, १२ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले शंका गर्छन् कि भनेर कांग्रेस सभापति शेरबहादुर देउवा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित कार्यक्रममा नआएको टिप्पणी गरेका छन् । आज (शनिबार) पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं । शेरबहादुरजी अहिले आत्तिनुभएको होला । यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौं सबै कुराहरु, यो मुटुको ढड्कन अलिअलि बुझिहालिन्छ । केही फरक पर्नेवाला छैन,’– उनले भने ।

नेता नेपालले कांग्रेस सभापति देउवा नआएपनि उनको मन सोही कार्यक्रमतिर नै रहेको बताए । उनले संविधान कार्यान्वयनको १० वर्ष भइसकेको बताउँदै यसमा केही पुनरावलोकन आवश्यक रहेको बताए । तर, दुई दलमात्रै मिलेर संविधान पुनरावलोकन हुन नसक्ने बताए ।

‘शेरबहादुरजी तपाईँ आउन नपाएपछि तपाईँको भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यहीँ छ मन यतापनि छ । नेपालको राजनीतिमा अहिले जुन ढंगले तपाईँहरुले पहल गर्ने कुरा गर्नुभएको छ, त्यो राम्रो मनशायले हो कि होईन ? राम्रोसँग बुझ्नुहोला । संविधान संशोधनजस्तो विषय के गोप्य रुपमा गर्ने विषय हो ? अवश्य, संविधानका धेरै विषयहरुमा बहसको आवश्यकता छ,’– उनले भने ।

उनले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसलाई विश्वासमा लिएपनि मूल उद्देश्य भने अर्कै रहेको दाबी गरे । एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थ सिद्ध गर्न अनेक किसिमका जामा पहिरिएको उनको भनाइ छ । ‘मूल कुरा के हो संविधान संशोधन ? होईन अर्कै छ । अहिले नभनीहालौं । आफ्नो–आफ्नो स्वार्थ सिद्ध गर्नका लागि अनेक किसिमको जामा पहिरिएपनि वास्तविकता समयक्रममा उजागर हुनेछ । हामी जोड के दिन चाहन्छौं भने यो संविधान, जो नेपाली जनताको निकै ठूलो, त्याग, तपस्या र बलिदानीबाट बनेको छ । यसमा आघात पुर्याउने कुनै काम नहोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्