Logo

संविधान संशोधन गरेर प्रतिनिधि सभालाई समानुपातिकरहित बनाउनुपर्छः एमाले नेता पोखरेल



काठमाडौं, १३ साउन । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले निर्वाचन प्रणालीको सन्दर्भमा संविधान संशोधन अपरिहार्य भएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतबाट शिक्षा लिएर पनि अब संविधान संशोधन नगरी निदाएजस्तो गर्न नहुने बताए । उनले स्थायी सरकार दिनका लागि पनि प्रतिनिधि सभामा समानुपातिक व्यवस्था राख्न नहुने बताए । तर, कांग्रेस–एमालेले दुई तिहाइको बलमा भन्दा पनि सबैसँग संवाद गरेर सहमतिको आधारमा संविधान संशोधन गर्नुपर्ने बताए ।

‘संविधान परिवर्तनशील दस्तावेज हो । समयसापेक्ष यसलाई परिवर्तन गर्नु पर्दोरहेछ । विशेषगरी निर्वाचन प्रणालीको सन्दर्भमा हामीले जे भोग्यौं अहिले, अब पनि अनुभूति नगरेर निदाएजस्तो गर्न हुँदैन । अब जाग्नैपर्छ । समानुपातिक निर्वाचन प्रणालीकै कारण कहिले पनि प्रतिनिधि सभामा बहुमत नै नआउने, स्थायी सरकार नबन्ने परिस्थिति निर्माण हुँदा पनि टुलुटुलु हेरेर बस्ने कुरा भएन ।’ उनले भने, ‘अरु यस्तै केही चिजहरु अब आयोग बन्ला, त्यसले खोज्छ । यसमा एमाले–कांग्रेस मिल्यो हामी यसलाई बलको आधारमा गर्छौं भन्ने होईन । हामी राष्ट्रिय सहमतिकै आधारमा संविधान संशोधनको प्रक्रियामा गएर मुलुकलाई स्थिरता दिने, समृद्धिको दिशातर्फ जान कुनै बाधा नहुने परिस्थितिको निर्माण गर्ने बेला जरुर भएको छ ।’

साथै, उनले संविधान संशोधनको कुरा गर्दा कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले समावेशी सहभागितालाई कसरस्ी सुनिश्चितता गर्ने भन्ने कुरामा बृहत छलफल गरेर संविधान संशोधन हुने पनि उनले बताए । नेता पोखरेलले प्रतिनिधि सभाभने समानुपातिकविहीन हुन आवश्यक रहेको बताए । प्रतिनिधि सभामा समानुपातिकताका कारण च्याखेँ दाउ थाप्नेहरुले सरकारलाई अस्थिर बनाएको उनको आरोप छ । उनले समानुपातिक समावेशी व्यवस्थालाई राष्ट्रिय सभालगायत अन्य निकायहरुमा सुनिश्चितता गरिनुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्