Logo

सरकारले शोकमा दुई खालको व्यवहार गर्योः विश्वप्रकाश शर्मा



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले शोकमा दुई खालको व्यवहार गरेको टिप्पणी गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले गत साउन ९ गते सौर्य एयर र गत २०७९ माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा सरकारले फरक व्यवहार गरेको बताएका हुन् । उनले हवाइ र विमान दुर्घटनापछिको शोकमा पनि सरकारले फरक व्यवहार गरेको उनको भनाइ छ । उनले आगामी दिनमा शोकमा सरकारले फरक व्यवहार नगरोस् भन्दै ध्यानाकार्षण गराए ।

‘सौर्य एयरको जहाज दुर्घटनाको भोलिपल्ट हामीले राष्ट्रिय झण्डा आधा झुकायौं । २०७९ माघ १ मा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसको भोलिपल्ट हामीले राष्ट्रिय शोकको घोषणा गर्यौं । एउटै प्रकृतिको दुर्घटना, तर शोकमा हामीले दुई खालको व्यवहार गर्यौं । दुर्घटना र मृत्यु सबै दुःखद् हुन्छन् ।’ उनले भने, ‘यसबीचमा चौतर्फी रुपमा ध्यानाकार्षण नागरिक पंत्तिबाट गराइएको छ । त्रिशुलीमा पनि बस खस्यो । तर, न हामीले आधा झण्डा झुकायौं न हामीले कुनै शोकको घोषणा गर्यौं । म कामना गर्छु– आगामी दिनमा हवाइ होस्, या सडक होस्, यो प्रकृतिका दुर्घटनाहरु हामीले सुन्न नपरोस् । दुर्घटना भइहाल्यो भने राज्यले गर्ने व्यवहारमा एकरुपता कायम हुनसकोस् ।’



प्रतिक्रिया दिनुहोस्