Logo

ओलीले कांग्रेसमाथि लगाएको आरोप पुष्टि गर्न चुनौति दिँदै विश्वप्रकाशले भने, ‘गिरीबन्धु खाने कांग्रेसीले छुट नपाओस्’



काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटको ७० विघा जग्गा बेचेर खाने कांग्रेसका व्यक्तिमाथि छानविन सुरु गर्न चुनौति दिएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले उक्त आरोप पुष्टि गर्न चुनौति दिएका हुन् ।

‘गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्नेगरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानविन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन,’– उनले भने ।

वर्तमान सरकारलेप्रति नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरणमा जनताले आशंका गरिरहेको बताउँदै उनले निर्दोषलाई नफसाइ दोषीमाथि सजाय हुनुपर्ने बताए । उनले यी प्रकरणमा कुनै मोलाहिजाबेगर छानविन सुरु गर्न माग गरे ।

‘प्रधानमन्त्रीज्यूकै शब्दलाई सापटी लिएर म भन्न चाहन्छु–कुनै मोलाहिजाबेगर इमानको शपथ खाएर इमानको अनुसन्धान सुरु हुनुपर्छ । त्यो अनुसन्धानले हामी आफैंमाथि पनि प्रश्न गर्दैगर्दा आफू पनि अनुसन्धानको दायरामा उभिन तयार हुनुपर्छ । अरुमाथि अनुसन्धानको माग गर्न सजिलो हुन्छ । गाह्रो हुन्छ त आफैंमाथि नै अनुसन्धानको माग गर्न । आज म यो जिम्मेवार संसद्मा उभिएर अत्यन्त जिम्मेवार पूर्वक ढंगले माग गर्न चाहन्छु,’– महामन्त्री शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्