काठमाडौं, १३ साउन । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले थापासँगै नेकपा (एकीकृत समाजवादी) का खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताए । उनले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।
महासचिव पोखरेलले राजनीतिक धू्रवीकरण आवश्यक रहेको बताए । उनले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले वार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्ने बताए ।
पार्टी प्रवेशबारे सङ्क्षिप्त भनाइ राख्दै नवप्रवेशी थापाले आफू विना शर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले सात बर्ष अघिसम्म नेकपा (एमाले) मै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताए ।