काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता बन्न आफू तयार रहेको बताएका छन् । आज (आइतबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग आफू दाबेदार नभएपनि पार्टीले बनाउँदा संसदीय दलको उपनेता बनेर काम गर्न तयार रहेको बताएका हुन् ।
गत २०७९ मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेसले अझै संसदीय दलको उपनेता तोकेको छैन । उनले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको उपनेता तोक्नसमेत आग्रह गरे । दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्न देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने उनको भनाइ छ ।