Logo

माओवादी पदाधिकारी बैठकः जनता र वर्गतिर नै फर्किनुपर्नेमा जोड



काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरुले अब जनतामा जानुको विकल्प नरहेको सुझाव दिएका छन् । आजज (आइतबार) को बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्मा, गणेश शाह, हितमान शाक्य, गिरीराजमणि पोखरेल र श्रीराम ढकालले वर्तमान राजनीतिक परिस्थितिबारे धारणा राखेका थिए । सो क्रममा उनीहरुले अब जनता र वर्गसँगको कडीलाई बलियो बनाउनुको विकल्प नरहेको धारणा राखेका हुन् ।

‘परिस्थिति अत्यन्तै धेरै जटिल, पेचिलो छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालहरु पनि छन् । हामीले एक खालको सन्देश दिएर सरकारबाट बाहिरिएका छौं । अब हामीले जनतामा जानुपर्छ । जनतामा गएर वर्गसितको कडी अलि कमजोर भएको छ । हामी जनता र वर्गतिर फर्कन पर्छ भन्ने छ,’– बैठकमा नेताहरुले राखेको धारणा उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।

प्रवक्ता सापकोटाले माओवादी अहिले ठूलो रुपान्तरणको प्रक्रियामा रहेको बताए । उनले पर्सीसम्म पदाधिकारी बैठक सकिने र लगत्तै स्थायी कमिटी बैठक बस्ने बताए । त्यसपछि केन्द्रीय समिति बैठक बसेर माओवादी जनतामाझ पुग्ने, जनताले भनेका कुराहरु सुन्ने र पार्टीप्रति जनताको धारणालाई खुल्ला रुपमा छलफल गर्ने उनले बताए । जनताबाट प्राप्त सुझावका आधारमा माओवादीले अब विचार, रणनीति, सिद्धान्तमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।

साथै, उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको निवर्तमान सरकारले सामाजिक न्याय र सुशासनको सन्दर्भमा गरेको कामबाट जनतामा गएको सन्देश र भएका कमीकमजोरीहरुको जस अपजस सामूहिक रुपमा लिएर कमीकमजोरीप्रति गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्