Logo

टीआरसी विधेयकमा दलहरु सहमतिनजिक, बिहीबार फाइनल गरिने



काठमाडौं,१४ साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा दलहरु सहमतिनजिक पुगेका छन् ।

सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा सैद्धान्तिक सहमति गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए ।

उनले भने, ‘अब हामी टीआरसी विधेयक करिब करिब टुंग्याउने चरणमा हामी पुग्यौँ । अब दुई दिन अहिलेसम्मको सबै छलफलहरुलाई नियालेर प्रतिवेदन ल्याउँछौं । बिहीबार ८ बजे बैठक बसेर त्यो फाइनल डकुमेण्ट हेरेपछि त्यसको आधारमा फिनिसिङ गर्छौं । यो कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याएर, यही ऐनहअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्वपूर्ण छ ।’

आजको बैठकमा नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी एमालेका संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी थिए ।

त्यस्तै बैठक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी र महान्याधिवक्ता रमेश बडाललगायतको पनि सहभागिता थियो ।

यसअघि पनि शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल गरेको थियो । उक्त बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको बताइएको छ ।

सो सम्बन्धमा कानुनमन्त्री, महान्याधिवक्ता र सरोकारवालासँग पनि छलफल गर्ने निर्णयपछि आजको बैठकमा सरोकारवाला निकायका पदाधीकारीहरू उपस्थित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्