Logo

यस्तो छ साउने सोमबारको ब्रत र हरियो पहिरनप्रतिको धार्मिक विश्वास, किन खाँदैनन् माछामासु ?



काठमाडौं, १४ साउन । साउन महिनाको सोमबार अधिकांश महिलाहरु हरियो पहिरन, मेहन्दी र चुरामा सजिएका हुन्छन् । साउने सोमबारलाई भगवान शिवको प्रिय दिनको रुपमा लिइन्छ । यस दिन महिलाहरुले हरियो पहिरनमा ब्रत बस्नाले भगवान शिव खुसी हुने धार्मिक विश्वास रहँदै आएको छ । साथै, साउनको सोमबार विवाहित महिलाहरुले ब्रत बस्दा पतिको दिर्घायू हुने र अविवाहित महिलाहरुले भगवान शिवको ब्रत बस्दा योग्य वर पाइने धार्मिक विश्वास रहँदै आएको छ । साउनको सोमबार सनातन धर्मावलम्बीहरुले भगवान शिवको विशेष पुजा आरधना गर्छन् ।

धर्मशास्त्रले हरियो रंगलाई सौभाग्यको रंगको रुपमा वर्णन गरेको छ । भगवान शिवको आराधना गर्ने, उपवास बस्ने, शिवलिङ्गमा जल अर्पण गर्नाले भगवान शिव सुखी हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि मिल्ने जनविश्वास रहँदै आएको छ । हिन्दु धर्मशास्त्रमा पार्वतीले महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दीलगायको र अन्ततः सौभाग्य पाएको मिथक छ । साउने सोमबार शिवालयहरुमा दर्शनार्थीहरुको ठूलो भीड लाग्ने गरेको छ । सबैभन्दा बढी दर्शनार्थीहरुले साउने सोमबारमा पशुपतिनाथको दर्शन गर्छन् ।

त्यस्तै, साउन महिनामा ब्रत बस्न उपयुक्त हुने धार्मिक पक्षमात्रै नभएर वैज्ञानिक आधारहरु पनि छन् । वर्खायाममा पाचन प्रणाली कमजोर हुने, शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुने भएकाले ब्रत बस्नु राम्रो मानिन्छ । त्यस्तै, नेपाल कृषि प्रधान देश हो । यहाँको जनसंख्याको ठूलो हिस्सा कृषि कर्ममा आवद्ध छ । असार, साउन रोपाइँको महिना हो । साउनको सोमबार ब्रत बस्दा शरीरलाई आरामसमेत मिल्छ ।

त्यस्तै, अधिकांशले साउन महिनामा माछामासुसमेत खाँदैनन् । साउन महिनामा माछामासु छाड्दा फाइदा हुने वैज्ञानिक आधारसमेत छन् । वर्षायाम गर्मी महिनासमेत भएकाले यसबेला खानेकुरा चाँडै सड्ने गर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता समेत कमजोर हुन्छ । कमजोर पाचन शक्ति भएको बेला मांसाहारी भोजन गर्दा झनै समस्या बढ्ने हुन्छ । वर्षायाममा यस्ता तामसिक भोजनले झनै रोग निम्त्याउँछ । यो समयमा मासुका लागि पालिने पशुहरुले प्रशस्त मात्रामा हरियो घाँस खाएका हुन्छन् । त्यस्तो हरियो घाँस खाएका पशुहरुको मासुमा समेत विषालु पदार्थको मात्रा हुने गर्छ ।



प्रतिक्रिया दिनुहोस्