Logo

सांसद जबराले मागे क्यानका डीजी अधिकारीको राजीनामा, अटेर गरे निलम्बनमा राख्न सरकारलाई सुझाव



काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महानिर्देशक अधिकारीको कार्यकालमा ७ वटा विमान दुर्घटना हुँदासमेत उनले जिम्मेवारी नलिएको बताएका हुन् ।

यसअघि संसदीय समितिमा पनि डीजी अधिकारीले उक्त घटनाको जिम्मेवारी लिन्छु भनेको उनले स्मरण गराए । तर, डीजी अधिकारीले मुखले मात्रै जिम्मेवारी लिने हो भने सरकारले विमान दुर्घटना छानविनको अवधिसम्म उनलाई निलम्बनमा राख्नुपर्ने बताए ।

‘उहाँ प्राधिकरणका डीजी भएको समयमा ७ वटा दुर्घटना भएको छ । ११८ भन्दा बढी यात्रुको मृत्यु भएको छ । अरु देशमा यो किसिमको घटना भएको भए के हुन्थ्यो ? अस्ती हाम्रो समितिको मिटिङमा हामीले कुरा राख्दाखेरी म जिम्मेवारी लिन्छु भनेर उहाँले भन्नुभयो ।’ उनले भने, ‘यो भन्दा पहिला पनि त्यही भन्नुभयो । मुखले जिम्मेवारी लिनुभयो । अरु देशमा यस्तो घटना भयो भने राजीनामा दिने चलन छ । अहिलेको डीजीले राजीनामा दिनुपर्दैन ? अथवा डीजीले राजीनामा नदिँदा नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म डीजीलाई निलम्बन गर्नुपर्दैन ?’



प्रतिक्रिया दिनुहोस्