काठमाडौं, १५ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको बताए । ‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदैन ।’ महासचिव पोखरेलले भने, ‘त्यसको अन्त्य गर्न चुनावी संविधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको हो ।’
महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशतमात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए । साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताए ।
साथै, लोकतन्त्रको स्थायित्का लागि दलहरु जिम्मेवार हुनुपर्छ भनेर नै दुई ठूला दल मिलेको उनले सुनाए । ‘लोकतन्त्रको स्थायित्वका लागि दलहरु जिम्मेवार हुनुपर्छ, दलहरु बलिया हुनुपर्छ । तबमात्रै लोकतन्त्र बलियो हुनसक्छ भन्ने मान्यतलाई स्थापित गर्नका लागि प्रमुख दुई दलहरु मिलेका छन्,’– उनले भने ।