काठमाडौं,१५ सानन । न्याय परिषद्को बैठक आज बस्दैछ । दिउँसोपछि परिषद्को बैठक बस्न लागेको स्रोतले जनाएको छ ।
आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।
सर्वोच्चमा लामो समयदेखि ४ जना न्यायाधीशको पद रिक्त छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई, इश्वरप्रसाद खतिवडा, अनिल सिन्हा र सुस्मालता माथेमाले अनिवार्य अवकास पाएपछि सर्वोच्चमा ४ जना न्यायाधीशको खाली रहेको छ । प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले न्यायाधीश नियुक्तिमा कसरत गरेपनि सफल हुन सकेको थिएन् । दाहाल नेतृत्वको सरकारले तत्कालीन महान्यायधिवक्ता दीनमणि पोखरेललाई भावि प्रधानन्यायाधीशको लाइनमा रहनेगरि न्यायाधीश बनाउने तयारी गरेको थियो । तर, तत्कालीन सत्तारुढ दल नेकपा एमालेले असहमति जनाएपछि सो प्रयास असफल भएको थियो ।