Logo

मन्त्री र सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्रीले भने: छटपटीमा परेकाहरुले भ्रम फिँजाउलान्, भ्रममुक्त भएर ढुक्कसँग काम गर्नुस्



काठमाडौं,१५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार लामो समय चल्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री तथा सचिवहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार लामो समय चल्ने हुँदा ढुक्क भएर काम गर्न आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

‘मान्छेहरुले हल्ला फिँजाउन सक्छन् । यो सरकार पनि कतिदिन हो र भनेर । छटपटाएका मान्छेहरुले अनेक खालका कुराहरु गर्नसक्छन् । भ्रम छर्नसक्छन् । यो सरकार पनि कतिदिन हो र भन्न सक्छन् । तर, ढुक्का हुनुहोस् मेरो नेतृत्वको सरकार २ वर्ष चल्छ । त्यसपछि हाम्रै समर्थनमा शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुनेछ । २ वर्ष पुग्गुभन्दा एक हप्ताअघिनै मैले राजीनामा दिन्छु । यस्मा ढुक्क भए हुन्छ । सरकार कहिँ कतैबाट अप्ठ्यारोमा परेको छैन’ ओलीले भने ।

 प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन। भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन। हामीले सफलताको सङ्केत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ। यो सरकार एक्सन ओरिएन्टेड सरकार हो। देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। विना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ।’

सरकारले हिजोमात्र २१ जना सचिवको सरुवा गरेको थियो । सोही बमोजिम ओलीले नयाँ जिम्मेवारी पाएका सचिवहरुलाई सेवा प्रवाह र विकासका कामलाई अघि बढाउने विषयलाई व्यवहारमा लागू गर्ने बारेमा छलफल गर्न लागेका हुन् ।

सचिवहरुसँगको बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिवपनि सहभागी छन् । चालू आर्थिक वर्षको काम चुस्त र द्रुत गतिमा अघि बढाउने सरकारको योजना छ ।



प्रतिक्रिया दिनुहोस्