Logo

राजदूत नियुक्तिको सिफारिस समावेशी नभएको भन्दै कांग्रेस सांसद परियारले उठाए प्रश्न



काठमाडौं,१५ साउन । नेपाली कांग्रेसका सांसद जीवन परियारले राजदूत नियुक्तिको सिफारिसमा दलीत समूदायको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद परियारले संविधानको व्यवस्था अनुसार समावेशी सिद्धान्त अवलम्बन नभएको बताए । कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले भने, ‘हिजो मात्रै नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेको छ, उक्त निर्णयमा संविधानको धारा २८२ र २८३ आकर्षिक हुन्छ कि हुँदैन सरकारसँग प्रश्न गर्न चाहन्छु।’

संविधानको धारा २८२ मा राजदूत र विशेष प्रतिनिधिबारे व्यवस्था छ। उपधारा १ मा राष्ट्रपतिले समावेशी सिद्धान्तको आधारमा नेपाली राजदूत र कुनै खास प्रयोजनका लागि विशेष प्रतिनिधि नियुक्ति गर्न सक्नेछ भन्ने लेखिएको छ।

साथै धारा २८३ मा समावेशी सिद्धान्तबमोजिम नियुक्ति गर्नु पर्ने व्यवस्था छ। संवैधानिक अंग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिनेछ भन्ने कुरा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्