Logo

कांग्रेस-एमाले गठबन्धन सरकार संविधानको प्राण आहुती दिन अग्रसर छः सांसद अशोक चौधरी



काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले वर्तमान सरकार संविधानको प्राण नै आहुती दिन अग्रसर भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले मन्त्रिपरिषद गठन गर्दा, विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा र तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्ति गर्दा समानुपातिक समावेशी सिद्धान्तको धज्जी उडाएको बताएका हुन् ।

‘यो सरकार साच्चिकै संविधान विरोधी सरकार हुन पुगेको छ । यसको सुरुवात मन्त्रिपरिषद् गठनदेखि भएको थियो । अहिले सरकारले गरेको पछिल्लो निर्णयमा १८ देशमा राजदूत सिफारिस गर्दा र तीन वटा प्रदेशमा प्रदेश प्रमुख सिफारिस गर्दा र २२ जना सचिवहरुको सरुवा हुँदा एउटा पनि मधेशी, थारु, दलित, मुस्लिम, सीमान्तकृत र पिछडिएको क्षेत्रको नपर्नु दुर्भाग्यपूर्ण छ । सरकार संविधानको प्राण नै आहुती दिन अग्रसर भइरहेको छ । सरकारले समानुपतिक समावेशिताको धज्जी उडाएको छ,’– उनले भने ।

साथै, उनले वैदेशि रोजगारीको क्रममा साउदी अरब पुगेका ३० जना नेपाली बिचल्ली अवस्थामा रहेको भन्दै उनीहरुको उद्धारको माग गरे । उनीहरुलाई विदेश पठाउने मेनपावरलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्