काठमाडौं,१५ साउन । नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालाई विश्वासको मत नदिने भएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमाथिको छलफलमा बोल्दै एसका संसदीय दलका नेता कृष्णप्रसाद खनालले सरकारलाई विश्वासको मत नदिने प्रष्ट पारेका छन् ।
एकीकृत समाजवादीले सरकारले मन्त्रालय भन्दा धेरै मन्त्री नियुक्त गरेको भन्दै आपत्ति पनि जनाएको छ । नेपाली कांग्रेसभित्रको गुट मिलाउनका लागि मन्त्रालयभन्दा धेरै मन्त्री थपिएको नेता खनालले बताए । बागमतीमा हाल १३ वटा मन्त्रालय छन् । तर, मुख्यमन्त्री लामाले १४ जना मन्त्री नियुक्त गरेका छन् । सांसद मधुकुमार श्रेष्ठलाई हाल विना विभागीय मन्त्री बनाईएको छ ।
त्यसोत यसअघि शालीकराम जम्कट्टेल नेतृत्वको सरकारले पनि एकीकृत समाजवादीकी सांसद रमा आलेलाई ४४ दिन विना विभागीय मन्त्री बनाए। सत्ताच्यत हुने बेलामात्र मन्त्रालय फुटाएर खेलकुद मन्त्री बनाएको थियो । सांसद खनालले भने १३ बाट मन्त्रालय घटाएर ७ मा झार्न चुनौती दिएका छ्न ।
सांसद खनालले मुख्यमन्त्रीमा दाबी पेश गर्दा र नियुक्ति लिँदा आफूहरुलाई बेवास्ता गरिउको गुनासो गरे । उनले दुई दलको सरकारमा प्रशस्तै बहुमत रहेको हुँदा आफूहरुको मत सरकारलाई आवश्यक नरहेको बताए ।