Logo

माओवादी ०८४ को निर्वाचनमा कांग्रेस-एमालेको बुई नचढ्ने



काठमाडौं, १५ साउन । नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको निश्कर्ष निकालेको हो । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो,’– पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्नि सापकोटाले भने ।

साथै, गठबन्धन गरेर निर्वाचनमा जाँदा वर्गसितको सम्बन्ध खुकुलो र टुटेको भएको र जनताको सुख, दुःखमा नजोडिएको जस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनले पदाधिकारी बैठकमा लामो समीक्षासहित जनतामा जाने निर्णय गरिएको बताए । माओवादी केन्द्रले आगामी साउनको २५ गते स्थायी समिति बैठक बोलाएको छ ।

प्रवक्ता सापकोटाले पदाधिकारी बैठकमा प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निर्णय भएको बताए ।



प्रतिक्रिया दिनुहोस्