Logo

विद्युत बक्यौता मिनाहा र रिलायन्स स्पिनिङको आईपीओ विवाद मिलाउन शक्तिकेन्द्र धाउँदै पवन गोल्यान



काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले डेडिकेटेड फिडर र ट्रंक लाईनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै रहेको अवस्थामा सो समितिका सभापति र बक्यौतासमेत तिर्न बाँकी रहेका एक जना व्यापारीबीच रहस्यमय भेट भएको भन्दै संसद्मा आपत्ति जनाए । सांसद सापकोटाले समितिका सभापति ऋषिकेश खनालले पदको दुरुपयोग व्यापारी भेटेको आरोप लगाए । उनले सो सम्बन्धमा गम्भीर छानबिनको समेत माग गरे । तर, सार्वजनिक लेखा समितिका सभापतिलाई भेट्ने ती व्यापारी भने को हुन् उनले संसद्मा खुलाएनन् ।

समितिका सभापति पोखरेललाई रिलायन्स स्पिनिङ मिल्सका मालिक पवन गोल्यानले भेटेको खुल्न आएको छ । उनले पोखरेललाई होटल भिभान्तमा भेट गरेका हुन् । रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई ७६ करोड बक्यौता तिर्न बाँकी छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले पछिल्लो समय रिलायन्स स्पिनिङसहित ६ उद्योगको लाइन काटेको थियो । तर, सत्ता समीकरण फेरबदल भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै सरकारको निर्देशनमा ती उद्योगहरुका लाइन जोडिएको थियो ।

प्रधानमन्त्री ओलीको निर्देशन अटेर गरेर लाइन जोड्न नमानेका प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको अन्ततः केही लागेन । उनले ३ महिनाभित्र बक्यौता नतिरे पुनः लाइन काट्ने चेतावनी दिँदै लाइन जोड्न निर्देशन दिएका थिए ।

पछिल्लो समय गोल्यानको रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रणालीबाट आईपीओ निश्काशनको अनुमति पाएको थियो । रिलायन्स स्पिनिङले गत असार २७ गतेदेखि बैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निश्काशन गर्ने तयारी गरेको थियो । तर, कम्पनीको वित्तीय विवरण शंकास्पद रहेको सार्वजनिक लेखा समितिले आईपीओ निश्काशन रोक्न निर्देशन दिँदै ७ दिनभित्र जवाफ पेश गर्न सञ्चालक समितिलाई निर्देशन दिएको थियो ।

रिलायन्स स्पिनिङले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरणमा वास्तविकता हेरफेर गरेको हुनसक्ने समितिको आशंका छ । रिलायन्स स्पिनिङले आ.व. ०७९/०८० मा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको वित्तीय विवरण तयार गरेको थियो । तर, आ.ब. ०८०/०८१ मा आइपुग्दा प्रतिशेयर आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको थियो । रिलायन्स स्पिनिङले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको थियो ।

समितिको छानविनको दायरामा रहेका गोल्यानलाई भेटेको बारे सभापति पोखरेलले अप्रत्यक्ष रुपमा स्वीकार गरे । ‘डेडिकेटेड फिडर र ट्रंक लाईन विवादको विषयमा सार्वजनिक लेखा समितिका छलफल भइरहेको छ । त्यहाँ प्राधिकरण र मन्त्रालयका पदाधिकारीहरुसँग, विभिन्न उद्योग व्यवसायीहरुसँग छलफल भइराखेको छ । मैले होईन, मलाई प्राधिकरणका साथीहरु, मन्त्रालयका साथीहरु र विभिन्न उद्योगपतिहरुले भेटिराख्नु भएको छ । अब के गरौं त ? म भेट्छु, हामी भेट्छौं, हामी अन्यायमा छौं, यसो गरौं, त्यसो गरौं भनेर सल्लाह दिनेहरुले भेट्नुपर्यो भन्दा भाग्नु त ?’ उनले प्रतिपश्न गरे ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत डेडिकेटेड फिडर र ट्रंक लाईनको कूल २२ अर्ब २४ करोडभन्दा बढी बक्यौता रहेको उल्लेख छ । यता सार्वजनिक लेखा समितिलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लिखित बेरुजुको जाँच गरी महालेखा परीक्षकद्वारा सम्पादित कामकारबाही र सो सम्बन्धमा सम्बन्धित निकायबाट हुनुपर्ने कामकारबाही कानूनसङ्गत र औचित्यपूर्ण तवरबाट भए नभएको सम्बन्धमा समेत अध्ययन गरी आवश्यक निर्देशन दिन सक्ने अधिकार छ ।

यसरी समितिमा छानविन भइरहेको विवादसँग जोडिएका पात्रले सोही समितिका सभापतिलाई गोप्य रुपमा होटलमा भेट्नु मर्यादा विपरीत हो । यसले रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक गोल्यान शक्तिकेन्द्रको आशिर्वादमा विद्युत महशुल र गलत वित्तीय विवरण देखाएर जारी गर्न लागिएको आईपीओमा उन्मुक्ति खोज्दैछन् भन्न प्रष्ट हुन्छ ।



प्रतिक्रिया दिनुहोस्