काठमाडौं, १६ साउन । गतराति वर्षाको कारण आएको बाढीले भक्तपुरका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । हनुमन्ते खोलामा आएको बाढीले खोला आसपासका क्षेत्रमा क्षति पुर्याएको छ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतका अनुसार खोलाले राधे राधे, सङ्गम कोलोनी, कमेरोटारको तल्लो क्षेत्र, गठ्ठाघरको सागबारी र बालकोट क्षेत्रसमेत डुबानमा पारी घरभित्र लेदो थुप्रिएको छ ।
सूर्यविनायक नगरपालिका ४– दधिकोटको मोडन स्कुल क्षेत्रका महादेव खोला र घट्टेखोला आसपासका नयाँ बस्ती पनि डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ कटुञ्जेको गैँडेधारा टोल, सूर्यविनायक नगरपालिका–६ कटुञ्जेको पाण्डु बजार क्षेत्रमा पनि बाढीले क्षति पुर्याएको छ ।
बाढी प्रभावित क्षेत्रमा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री बस्नेतसहित स्थानीय जनप्रतिनिधि तथा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीका स्वयंसेवक युवाले स्थलगत र डुबान क्षेत्रमा स्थानीयलाई सहयोग गर्न खटिएका छन् ।